काठमाडौं, १६ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालका लागि रोशन कुमार न्यौपाने नियुक्त भएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई आगामी ४ बर्षका लागि फेरि सिइओ नियुक्त गरेको हो ।
सन् २००८ देखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ गतेको बैठकले न्यौपानेलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।
३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि न्यौपाने मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भएका थिए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका छन् ।
बैंकको नेतृत्वदायी भूमिकामा आएपछि एनआइसी एशिया बैंक अधिकांश वित्तीय सूचकांकहरुमा अग्रणी स्थानमा पुगेको छ । एनआइसी एशियाले चालू आर्थिक बर्ष २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पूँजीमा प्रतिफल, प्रतिशेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।
यसैगरी, चालू आर्थिक बर्षको पहिलो त्रैमासमा खुद मुनाफातर्फ १ अर्ब ७५ करोड आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको एनआइसी एशिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।













प्रतिक्रिया