२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतका सभामुखबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग भेटवार्ता गरेका छन् ।

बेलायती संसद भवनमा भएको भेटवार्तामा तिमिल्सिना र होयलबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो। विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदान-प्रदान, भूपू गोर्खा सम्बन्धी विषयमा कुराकानी भएको हो।

‘बेलायती संसदको नेपाल प्रतिको सद्भाव, एक्यवद्धता एवं सहयोग दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका रहेको छ,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालका लागि बेलायती संसदीय समूहले नेपाल र बेलायतको सम्बन्धलाई थप सुदृढ बनाउन खेलेको महत्वपूर्ण भूमिकाको म प्रशंसा गर्न चाहन्छु।’

उनले कोभिड महामारीका समयमा नेपाललाई सहयोग गर्ने विषयमा बेलायती संसदमा भएको छलफलको नेपाली जनताले स्मरण गरिरहेका बताए। अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिश गोर्खाहरु नेपाल र बेलायतको सम्बन्धको एक महत्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाहरुका पेन्सन र क्षतिपूर्ति लगायतका विषयमा बेलायती सरकारसँग केही मागहरु रहेको स्मरण गरे। उनले ती मागहरु सम्बोधनका लागि द्विपक्षीय वार्ता समिति गठन भइ वार्ताको तयारी भएकाले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे।

सो क्रममा तिमिल्सिनाले बेलायतमा रहेको नेपाली समुदायले बेलायत र नेपाललाई जनस्तरमा जोड्न महत्वपूर्ण योगदान रहेको बताउँदै बेलायती राजनीतिमा नेपाली मूलका बेलायतीहरुको समेत सहभागिता बढ्दै गएको उल्लेख गरे। भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी थिए ।

यसैबीच अध्यक्ष तिमिल्सिनाले सोमबार (२४ अक्टोबर २०२२) मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्मा लगायतका सांसदहरुसँग भेटघाट गरेका थिए। सो क्रममा दुई देशको संसदबीचको सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो।

अध्यक्ष तिमिल्सिनाको सम्मानमा मैत्री समूहका अध्यक्ष शर्माले दिवाभोजको आयोजना समेत गर्नुभएको थियो। अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तर व्यवस्थापिका संघको १४५औँ सम्मेलनमा (११-१५ अक्टोवर, २०२२) संघीय संसदको प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी भएको थिए । सो सम्मेलन सम्पन्न भएपछि उहाँ गैरआवसीय नेपाली संघ तथा अन्तर्राष्ट्रिय पर्वत समाज लगायतका संस्थाको कार्यक्रमहरुमा सहभागी हुन बेलायतको एक हप्ताको अनौपचारिक भ्रमणमा गएका थिए ।