
काठमाडौं, ६ कात्तिक । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् ।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न संघसंस्थाहरुले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् ।
भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप भने बढ्न नसकेको उद्योगी व्यवसायीको भनाई छ ।
निक्षेप बढ्न नसकेपनि ब्याजदर उच्च हुँदा गम्भिर नकारात्मक असर परेको चेम्बरले जनाएको छ । ब्याजदरको बर्तमान असर र विगतको अनुभव समेतलाई मनन गर्दै ब्याजदरलाई सीमाभित्र राख्नु पर्ने नीति अवलम्बनका लागि पनि उद्योगी व्यवसायीले माग गरेका छन् । यसैगरि बैंक तथा वित्तिय संस्थाहरुले हाल विद्यमान स्प्रेड दरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिसतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागू हुनु पर्ने माग गरिएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने अवस्था रहेकोतर्फ पनि व्यवसायीले ध्यानाकर्षण गराएका छन् । साथै, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुंदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने पनि व्यवसायीहरुले माग गरेका छन् ।
मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैकबाट पहल हुनुपर्ने पनि व्यवसायीहरुको माग रहेको छ ।













प्रतिक्रिया