-सञ्जय खड्का
एआई हो कि इआई !? सन्यासी हुन् कि फटाहा ?
खगेन्द्र कि ‘खकार–केन्द्र’ ? किशोर कि ‘कु–शोर’?
दान ब. कि ‘आदान ब.’? को पीडित को पीडक ?
सत्य के हो– तत्काल निष्पक्ष छानबिन होस् !
कृपया, सञ्जालको खेती बन्द गर !
तत्काल मुद्दा दायर गर,
राजीनामा दिएर छानबिन सुम्प,
न्यायको एउटा उदाहरणीय मसिहा बन !
अपशब्द ओकल्न अनुमति दिने त्यो
एआईलाई पनि कठघरामा उभ्याइयोस्,
बनाउन लगाउने, बनाउने र बजाउने,
जोसुकै होस्, सबैको बाजा बजाइयोस् ।
समाज आज दुई कित्तामा चिरिएको छ,
कोही अन्धभक्ति, कोहि अन्धविरोधी बनेको छ !
‘नालायकको शासनबाट लफङ्गाको शासन-२
भन्ने भाष्य स्थापित हुने हो कि भन्ने डर छ !
सफाइको मुसलधारे वर्षा छ–
‘उनी त शाकाहारी हुन्,
रगत पिउने, आमा–बच्चा मार्ने, घिसार्ने …
अनि भनिँदैछ– उनी ध्यानी हुन्, ज्ञानी हुन् !
फुसफुसाउँछन्– फौजदारी अपराध हुनै सक्दैन !
गुनगुनाउँछन्– गाईबारे त्यस्तो बोल्नै सक्दैनन् !
फेरि क्यारिकेचरको चर्को गर्जन सुनिन्छ–
सन्यासीका लागि ‘टुँ–टुँ’ राख्नै पर्दैन !
वाहवाही पाउँदा ‘आई’, विवाद चर्किँदा ‘एआई’
भन्दै पन्छिने यो पाखण्डको पराकाष्ठा कहिलेसम्म ?
सेकेण्डभरमै अडियोको सत्यता खुल्ने जमानामा,
यो बेकारको वादविवाद किन ?
विवेक बन्धकी राखेर भुक्ने,
हे ‘झोले’ र ‘घण्टे’ मित्रहरू !
अलिकति लाज बचाऊ, छानबिन हुन देऊ,
अनि मात्र आफ्ना फैसला सुनाऊ !
विडम्बना! यहाँ अनुसन्धान अगावै,
अभियुक्त्तलाई अपराधी करार गरिन्छ !
सामाजिक सञ्जाललाई ‘डिजिटल कोर्ट’ बनाएर,
आफैं न्यायधीश बन्ने नौटङ्की रचिन्छ !
हामी जनतालाई त एउटा कुरा मात्र थाहा छ,
त्यो के भने– हामीलाई केहि थाहा छैन !
तर एउटै पुकार छ– तत्काल निष्पक्ष छानबिन होस्,
एआईको बचाउ कवाच भत्काउने कठोर नजीर बनोस् ।
पाद टिप्पणी-
१. इआई अर्थात् इभिल इन्टेल्याक्चुअल । मनोज गजुरेलको फेसबुक पोष्टबाट साभार ।
२. राजनीतिक विश्लेषक घनश्याम भुसालको भनाइ ।













प्रतिक्रिया