
काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई वैधानिक ढंगले बैठक राख्न चुनौती दिएका छन् ।
मंगलबार जडिबुटीमा आफ्नो पक्षको केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अध्यक्ष यादव निरंकुश र स्वेच्छाचारी रूपमा अगाडि बढेको बताए ।
उनले वीरगञ्जमा तोकिएको बैठक आफूहरूसँग कुनै छलफल नगरी तय गरिएको दाबी गरे ।
राजनीतिक प्रतिवेदन पेश गरेका भट्टराईले भने ‘मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन हिम्मतका साथ फेस गर्न, वैधानिक ढंगबाट बैठक राख्न र सरसल्लाह गरेर विधिसम्मत बैठक राख्न अहिले पनि चुनौती दिन्छु ।’
यादवले आफ्नो गुटको मात्रै बैठक वीरगञ्जमा आयोजना गरेको भट्टराईको भनाइ छ । उनले भने, ‘तपाईँले अवैध ढंगले गलत मनसायका साथ आफ्नो गुटको मात्रै बैठक अपायकमा, बेमौसममा वीरगञ्जमा राख्नुभएको छ, त्यो बैठक तुरुन्त स्थगित गरेर यहाँ आउनुस् हामीसँग सल्लाह गर्न । सल्लाह गरेर अर्को बैठक राखौं यदि हाम्रो नियत खराब छ भने हामीलाई त्यहाँ नंग्याउनुहोला ।’
डा. भटट्राईले आफूले पार्टी फुटाउन नचाहेको बताए । उनले भने, ‘हामीले राजनीतिक प्रतिवेदन पेस गर्छौं, शीर्षकै राखेका छौं, पार्टीको रुपान्तरण र पुनर्गठनबारे । भनेपछि हामीले अहिले पनि रुपान्तरण खोजेका छौं । फुटाउन खोजेका छैनौं ।’
‘विभाजनको निम्ति होइन, त्यसमा कुनै न मनसाय थियो, हामीले आफैं बनाएको संगठन पार्टी किन विभाजन गर्छौं ? आफैंले जन्माएको सन्तानलाई बाउआमाले किन मार्छन ?’ उनले प्रश्न गरे ।
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)















प्रतिक्रिया