बेलौरी (कञ्चनपुर), १६ जेठ । महिलाले पहिलो पटक विदेशमा श्रीमानले कमाएको रकम बचत गर्न बैंक खाता खोल्न थालेका छन् । श्रीमानले छिमेकी मुलुक भारतबाट कमाएको पैसा सुरक्षित पाउन तथा विप्रेषणलाई बचत गर्न कञ्चनपुरका ५६५ महिलाले बैंक खाता खोलेका छन् ।
सुरक्षित आगमन कार्यक्रममा चेतनशील भएर यहाँका महिलाले बैंक खाता खोलेका हुन् । ‘बाटोमा पैसा बोकेर आउँदा लुटिन्छन्’, पीपलाडीकी सुनिता नेपालीले भन्नुभयो, “त्यसबाट जोगिन र बैंकबाट पैसा पठाए विप्रेषण पनि बचत हुन्छ, भनेर बैंक खाताखोल्यौ ।” नेपाल पर्यावरण तथा शिक्षा समाज र केयर नेपालले सञ्चालन गरेको सुरक्षित आगमनसम्बन्धी कार्यक्रमले चेतना दिएर महिलाले आफ्ना श्रीमानसँग सल्लाह गरी बैंकमा खाता खोलेको सुरक्षित आगमन कार्यक्रमका संयोजक प्रकाश मडैले बताउनुभयो । मडैका अनुसार उनीहरूले खाता नेपाल एसबिआई बैंक, महेन्द्रगरमा खोलेका छन् ।
नेपालीका अनुसार बैंक खाताबाट मासिक रु ५० लाख विप्रेषण नेपाल भित्रिन्छ । महिलाले बैंकमा खाता खोलेपछि हालसम्म रु तीन करोड १८ लाख विप्रेषण भित्रिएको एसबिआई बैंकले जनाएको छ ।
महिलाले समूहमा मासिक बैठक राखेर विदेशबाट आएको पैसा सदुपयोग विषयमा छलफल गर्छन् । “फजुल खर्च नगरी बचतका लागि समूहमा बसेर छलफल गर्छौं”, बेलौरीकी माया चौधरीले भन्नुभयो । श्रीमानले दुःख गरेर कमाएको पैसा सहज रुपमा आओस् भन्नका लागि बैंकमा खाता खोलेको उहाँले बताउनुभयो ।
महिलाले विदेशबाट आउने आफ्ना श्रीमानलाई जनचेतनामूलक सन्देश पठाउछन् । अरुले दिएको खानु हुँदैन, टिकट खरिद गर्दा काउन्टरबाट लिनुपर्छ, समूहमा हिँड्नुपर्छ भन्ने सन्देश महिला आफ्ना श्रीमान्लाई फोनबाट जानकारी तथा सम्झाउने गर्छन् । विगतमा भारतमा रोजगारबाट कमाएको रकमसँगै ल्याउँदाबीच बाटैमा लुटिने गरेको थियो । बैंकमा खाताखोलेसँगै लुटिने क्रम घटेको छ ।













प्रतिक्रिया