१२ कार्तिक २०८३, बिहिबार

मादीसेती नदीमा मोटरबोट परीक्षण सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १७ चैत । आठौँ तनहुँ महोत्सवको समयमा मादीसेती नदीमा सञ्चालनमा ल्याइएको मोटरबोट परीक्षण गर्दा सफल भएको छ । पानीको बहाव परीक्षण गर्दा आगामी दिनमा मोटरबोट सञ्चालन गर्न मिल्ने भएको हो ।

मोटरबोट व्यवस्थापन समितिका संयोजक दीपक राईले सेतीमादी दोभानदेखि बुल्दीको दोभानसम्म मोटरबोटको परीक्षण गर्दा सफल भएको जानकारी दिनुभयो । डोजर लगाएर उक्त भागमा नदीमा रहेका ढुङ्गाहरु हटाइएपछि मोटरबोट सञ्चालन गर्न सकिएको हो ।

मादी र सेती नदीमा पहिलो पटक मोटरबोट चढन पाउँदा तनहुँवासीहरु हौसिएका छन् । मादी र सेतीमा पहिलो पटक मोटरबोट चढ्न पाउँदा निकै आनन्दको अनुभूति भएको सञ्चारकर्मी विष्णु गौतमले बताउनुभयो ।

मादी र सेतीमा समेत मोटरबोट सञ्चालन गर्न सकिने सम्भावना रहेछ । उहाँले भन्नुभयो, “महोत्सवले निरन्तर सञ्चालनका लागि ढोका खोलिदिएको छ ।”

मोटरबोटको सफल आरोहण भएसँगै उक्त नदीमा निरन्तर रुपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ । आठौँ तनहुँ महोत्सवमा मोटरबोटको आकर्षण बढेको महोत्सवका संयोजक पवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

व्यास नगरपालिकासँग समन्वय गरी मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणगढबाट मोटरबोट ल्याएका लेखनाथ पौडेलले जानकारी दिनुभयो । “नारायणी नदीमा जस्तै गरी मादी र सेतीमा पनि मोटरबोट सञ्चालन गर्ने तयारीमा हामी छौँ,” उहाँले भन्नुभयो । छिट्टै सम्बन्धित निकायहरुबाट स्वीकृत लिएर मोटरबोट सञ्चालन गराइने योजना रहेको बताइएको छ ।

महोत्सवका बेला मोटरबोट चढ्नका लागि प्रतिव्यक्ति रु २५० लिइँदै आएकामा घटाएर १५० पु¥याइएको छ । दर्शकको मागलाई ध्यानमा राखी मोटरबोटको शुल्क घटाइएको तनहुँ उद्योग वाणिय सङ्घका महासचिव सुबोध अधिकारीले बताउनुभयो ।–रासस