१२ कार्तिक २०८३, बिहिबार

फेदीखोला–२ का घर घरमा धारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, १७ चैत । लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १६६ घरधुरीका ८०० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

वडाध्यक्ष हिमालयजङ्ग बानियाँका अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएकोे च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४२५ जना लाभान्वित भएका छन् भने सङ्घीय सरकारबाट प्राप्त रु ९५ लाख ४८ हजार ५१३को लागतमा निर्मित ठूलाधारा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरीका ३७५ लाभान्वित भएका छन् ।

यसअघि सञ्चालित खानेपानी योजना अव्यवस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएकाले प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहानबाट पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समिति अध्यक्ष बमबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका–२ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गेडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ । योजना मर्मतका लागि मासिकरुपमा रु ५० सङ्कलन गर्न थालिएको समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

लिफ्टिङबाट वडा नं २ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र सुवेदीले बताउनुभयो ।

गाउँभन्दा करिब एकसय मिटर तल रहेको ठूलाधारा मुहानबाट पिठ्यूँमा पानी बोकेर ल्याउनुुपर्ने बाध्यता रहेको थियो” उहाँले भन्नुभयो, “अहिले घरघरमै पानीको धारा जडान गरिएसँगै यहाँका बासिन्दाको दैनिक जिवनमा परिवर्तन आएको छ ।”घरघरमै पानी आएपछि पानी बोक्नका लागि दैनिक खर्चिनुपर्ने समय अन्य आयमूलक कार्यमा लगाउन सकिने समितिका अध्यक्ष सुवेदीको भनाइ थियो ।–रासस