१२ कार्तिक २०८३, बिहिबार

चिनियाँ प्रविधिको प्रयोग गर्दै मनाङमा सडक मर्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १६ चैत । गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेँसीसहर–चामे सडक मर्मतको जारी छ । सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान काम भइरहेको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार हालका लागि करिब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा छ ।

जिल्लामा यसअघि पनि यो चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ । यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको उहाँले जानकारी दिनुभयो । “अब यस कार्यको प्राविधिक, आर्थिक लगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने भएको छ,” उहाँले भन्नुभयो ।

“सडक बन्ने बित्तिकै गाडी गुडाउन सहज हुने भएको छ, यस प्रविधि मनाङ जस्ता चट्टानी भूगोल भएको क्षेत्रमा सडक ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँहरुमा एकदम उपयोगी हुने देखिन्छ,” नासों गाउँपालिका–१ तालका अन्द्रे गुरुङले भन्नुभयो ।

“यस प्रविधिबाट सडक ढलान गर्दा पानी कम प्रयोग गरिन्छ, रोलर लगाइन्छ र कमप्याक्शनपछि अरू सतहमा नटाँसिने भएकाले ढलानपछि हप्तौँ कुर्नुपर्ने बाध्यता हुँदैन,” उहाँले भन्नुभयो ।

सांसद पोल्देन छोपाङ गुरुङले भन्नुभयो, “मनाङको लाइफलाइनका रुपमा रहेको सडकमा नयाँ प्रविधिको प्रयोग गरी फटाफट गरिएको काम अहिलेको आवश्यकता हो ।” जिल्लाको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे–बेँसीसहर चामे सडकमा धेरै सुधार भएको र अझै तीव्र गतिमा काम अघि बढाउने योजना रहेको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो ।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लास्टिङ गरेर सहज रुपमा यातायात सञ्चालन भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक खण्डको १०७ किमीमध्ये लमजुङको बेँसीसहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।–रासस