१२ कार्तिक २०८३, बिहिबार

कानुनबारे जानकारी पाएपछि मेलमिलापकर्ता भए खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, १५ चैत । घोराही १२ की भागिता बुढा कसैसँग बोल्न पनि डराउने र लाज मान्ने गर्नुहुन्थ्यो ।

घोराही उपमहानगरपालिकाले वडास्तरीय मेलमिलाप केन्द्रका सूचीकृत मेलमिलाप कर्तालाई तालिम दिएपछि उहाँमा पूरै परिवर्तन आएको छ । उहाँ खुलेर बोल्न सक्ने, अरुको समस्या सुन्न सक्ने हुनुभएको छ । कानुनका बारेमा जानकारी लिनुभएको छ ।

समाजमा हुने सानातिना विवादलाई गाउँघरमै मिलाउनु पर्दोरहेछ भन्ने बुझिएको छ । सामाजिक सद्भावलाई सुमधुर राख्नका लागि मेलमिलाप गर्नुपर्छ भन्ने थाहा पाउनुभएका उहाँले अहिले मेलमिलाप गराउने अभियानमा लाग्नुभएको छ । घोराही– १८ का सुशीला चौधरीलाई सामान्य विवादमा सहमति पु¥याएर सहज वातावरण निर्माण गर्न सकिन्छ भन्ने जानकारी थिएन ।

स्नातक पास गर्नुभएकी चौधरीले मेलमिलाप कर्ताको कर्तव्य र कामका बारेमा जानकारी पाएपछि जिम्मेवारी बढेको बताउनुभयो । मेलमिलाप कर्ताको भूमिका समाजका लागि महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

घोराही– १३ आन्दपुरका सङ्गीता रोकामगरले यो तालिमले आफ्नो व्यक्तित्व विकास भएको तथा सवाल, विकल्प र अडानका बारेमा जानकारी पाएकोे बताउनुभयो । गाउँघरमा हुने सानातिना झगडामा खासै चासो नराख्ने गरेको र कानुनका बारेमा जानकारी लिएपछि अब समाजका हरेक क्रियाकलापमा सहभागी हुने उहाँले बताउनुभयो । घटनाको प्रकृति हेरेर कानुन लागूहुन्छ भन्ने पनि थाहा थिएन । सबै मुद्दा प्रहरीले हेर्ने होला जस्तो लाग्थ्यो, त्यसो नहुँदोरहेछ ।

घोराही– १५ का बालिका पाण्डेय हिंसापीडित महिला हुनहुुन्छ । “आफूलाई अन्याय पर्दा कानुनी ज्ञान नहुँदा धेरै दःुख पाइयो । न्यायका लागि भौतारिनु प¥यो”, उहाँले भन्नुभयो, “मेलमिलापकर्ताको तालिम लिएपछि कानुनका बारेमा जानकारी पाएपछि खुसी लागेको छ ।”

सामाजिक विकृति र कुरुतीलाई कसरी समाधान गर्ने र समाजमा शान्ति सुरक्षा कायम गराउनेमा मेलमिलाप कर्ताको भूमिका महत्वपूर्ण हुने गरेको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिकाअन्तर्गत वडास्तरीय मेलमिलाप केन्द्रमा सूचीकृत मेलमिलापकर्तालाई ४८ घण्टाको तालिमको आयोजना गरिएको थियो ।

यही चैत ७ देखि १४ गतेसम्म तालिमको आयोजना गरिएको थियो । तालिमका सहभागीले समाज परिवर्तनका लागि कानुनका बारेमा सामान्य जानकारी राख्नु पर्ने बताएका छन् । उपमहानगरपालिकाका १९ वटै वडाका मेलमिलापकर्तालाई कानुनी ज्ञान, मेलमिलाप गर्ने तरिका र क्षमता तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको थियो । तालिममा सहभागीले कानुन, दण्ड, जरिवाना, न्याय स्थापित गर्नका लागि मेलमिलापकर्ताको भूमिकाका बारेमा जानकारी गराइएको छ ।

घोराही उपमहानगरपालिकाका न्यायिक समितिमा आउने मुद्दामा मिलापत्र गरेर पठाउन पाउँदा आफूलाई आनन्द आउने गरेको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो । अघिकांश मुद्दा मनोपरामर्शबाट सकारात्मक नतिजा आउने गरेको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाभित्रका विवादलाई न्यायिक समितिले दुबै पक्षको जित हुने गरी काम गर्ने गरेको छ । न्यायिक समिति गठन भएको करिब पाँच वर्ष पुग्नै लाग्दा अहिलेसम्म ८७९ मुद्दा न्यायिक समितिमा दर्ता भएको छ । तीमध्ये ८२० किनारा लागेका छन् ।

उपमहानगरको न्यायिक समितिमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म १६२ मुद्दामा दुबै पक्षको जित हुने गरी किनारा लागेका छन् । समितिमा जग्गा रोक्का, खाता रोक्कासम्बन्धी मुद्दा धेरै आउने गरेको बताइएको छ ।

जिम्मेवारी सरी आएका ९१ र नयाँ दर्ता भएका ३७ गरी कूल १२८ मुद्दामध्ये ११२ वटा फैसला भएको छ भने १६ वटा फैसला हुन बाँकी रहेको घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको पछिल्लो चार महिनायता नयाँ दर्ता भएका ११६ मध्ये ५८ वटा मुद्दामा मिलपत्र भएको र ५८ वटा बाँकी रहेको जानकारी दिनुभयो । यस्तै चालु आर्थिक वर्षको अहिलेसम्म जग्गा विवादका २१ मुद्दामा मिलापत्र भएको छ भने २० मुद्दा प्रक्रियामै रहेका छन् ।

घरेलु हिंसाका ७, लेनदेनको ६, कुलो नालापानीको ३, घरभाडाको एक र अन्यमा ११ वटा मुद्दामा मिलापत्र भएको छ । यस्तै घरेलु हिंसाका दुई, लेनदेनको आठ र अन्यमा १० मुद्दा प्रक्रियामै रहेको उहाँले जानकारी दिनुभयो ।

न्यायिक समितिको अधिकारमा आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड र उपयोग, अर्काको बालीनोक्सानी गरेको, चरन घाँस दाउरा, ज्याला मजदूरी नदिएको, घरपालुवा पशुपक्षी हराएको वा पाएको ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको मुद्दा न्यायिक समितिबाट फैसला गर्ने अधिकार छ ।

अधिवक्ता अर्जुन अधिकारीले अन्यायमा परेका व्यक्तिलाई न्याय दिन सजिलो होस् र गाउँघर मै सजिलो तरिकाले न्याय पाउनुपर्छ भन्ने मान्यताले प्रत्येक टोलका प्रतिनिधिलाई मेलमिलापकर्ताको भूमिकाको बारेमा जानकारी गराउनु सकारात्मक रहेको बताउनुभयो ।

कानुनको अनभिज्ञताका कारण कतिपय मानिस अलमलमा परेको बेला मेलमिलापकर्ताले बाटो देखाउने गरेको उहाँको भनाइ छ ।–रासस