९ कार्तिक २०८३, सोमबार

निर्वाचनमा मूलभूत रुपमा एमाले एक्लै जान्छ : महेश बस्नेत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगरी एक्लै जाने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमको बिचमा बोल्‍दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा नेकपा एमाले एक्लै जाने कुरा बताएका छन् ।

उनले थपे, ‘कुनै पनि खेलको मैदान होस या निर्वाचनको मैदानमा जाने कुरा होस, जुन शक्ति आफ्नो एजेण्डामा क्लियर र विश्वस्त छ, त्यो शक्ति ढुक्कसँग मैदानमा जान्छ । जुन शक्ति कमजोर छ, त्यो मैदानमा जान डराउँछ अनि जलझेल गर्छ। एमाले मात्रै विश्वस्तका साथ निर्वाचनमा एक्लै जान चाहन्छ ।’

यसैगरी बस्नेतले एमालेमाथि धेरै अनैतिक काम भएको कुरा पनि स्मरण गराए । उनले भने,‘हाम्रो पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउने काम भयो, एमाले सरकारले सुरुवात गरेका विकास निर्माणका काम अहिले अवरुद्ध भएका छन् । नियुक्तिहरु खारेज भएका छन् । भूमि आयोग भंग भएको छ, खेलकुद परिषद्, युवा कोषलगायतका नियुक्ति सरकारले खारेज गरेको छ ।’

एमालेलाई कमजोर गर्ने षड्यन्त्रमा अहिलेको सरकार लागिपरेको उनको आरोप छ । उनले भने, ‘हामी सबै कुरा सहेरपनि मुलुकलाई निकास दिन लचक छौं । एमालेलाई पेलेर वा च्यापेर पछि लगाउँछु भन्ने नसोचे हुन्छ ।’

उनले निर्वाचनमा एमाले एक्लै गए पनि कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुन सक्नेसमेत बताए । उनले भने, ‘निर्वाचनमा मूलभूत रुपमा एमाले एक्लै जान्छ । तर, निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकत्ताको आधारमा तालमेल हुनसक्छ । यो कुरा हामी स्विकारेर जान्छौं ।’