९ कार्तिक २०८३, सोमबार

हाम्रा सांस्कृतिक पर्वहरूले नेपाललाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका खेल्छ : तिमिल्सिना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशभित्रका विभिन्न सांस्कृतिक पर्वहरूले नेपाललाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय विविधतासँगै चाडपर्वको स्वर्णिम अवसरको रुपमा रहेको माघे संक्रान्ति, माघी पर्व, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्‌को नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

‘धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका यस्ता चाडपर्वहरुले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । हामी नेपालीबिच मनाइने यी र यस्ता पर्वहरुले संस्कृतिको संरक्षण तथा संवर्धन गरी सामाजिक सद्भभाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,’ उनले जानकारी गरेको सन्देशमा भनिएको छ ।

नेपाली संस्कृतिभित्र रहेका महत्वपूर्ण चाडपर्वहरुमा माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्‌को नयाँ वर्षले सबै नेपालीमा नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई आपसी एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्ने विश्वास उनले व्यक्त गरेका छन् ।

माघी वा माघे सङ्क्रान्तिको दिन तिलको लड्डु्, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।

यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी धुव्रको अवस्थितिको आधारमा यसको गणना र मापन गरिन्छ । आजदेखि सूर्य उत्तर दिशातर्फ सर्दै जाने र उत्तरी गोलार्ध्द सरेपछि सूर्यको न्यानोपना बढ्दै जाने विश्वास गरिन्छ र सूर्य मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।

प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्‌को नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।