
काठमाडौं, २८ पुस । अभिनेत्री दिया पुनले आगामी अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।
यसअघि ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेकी हुन् । चलचित्र ‘वीविक्रम’बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री पुनले ह्याप्पी डेज, मिस्टर झोले, दया रानी, र मन्त्रलगायत चलचित्रमा काम गरीसकेकी छिन् ।
दियाले सौगात मल्लसँग स्क्रिन शेयर गरेको चलचित्र ‘मन्त्र’ सामान्य अवस्था रहेमा आगामी माघ २८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारी छ । दिया चलचित्र ‘मन्त्र’को प्रचार प्रसारका लागि नेपाल आउने तयारीमा पनि रहेकी छिन् ।
हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन् ।
त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना थियो तर कोभिड महामारीका कारण रसियाको सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकाको सबैभन्दा अग्लो माउण्ट किलिमञ्जारो चढ्ने योजना भने अधूरै रह्यो ।
सन् २०२२ मा सगरमाथा चढ्ने उनको पुरानै योजना हो तर कोभिड महामारीका बेला बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत रहँदा उनले बिरामीको मात्र होइन धेरै सहकर्मीको मानसिक स्वास्थ्य स्थितिलाई नजिकबाट नियाल्न पाइन् । त्यसैले सगरमाथा आरोहण यात्रालाई उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।
उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।
‘कोभिडका बेलामा धेरै नर्सहरुको मानसिक स्वास्थ्यमा असर पर्यो । कतिले अर्कै पेशा रोजेको पनि देखेँ । त्यसैले सगरमाथा चढ्दा आफ्नो व्यक्तिगत इच्छा मात्र पूरा नगरेर सहकर्मीहरुका लागि केही सहयोग गरौँ भन्ने उद्देश्य उनको छ ।















प्रतिक्रिया