मुस्ताङ, १ वैशाख । मुस्ताङका सरोकारवाला निकायले बजेट फ्रिज नहुने व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिकूल मौसमका कारण विकास निर्माणका काम समयमै अघि बढ्न नसक्ने बताउँदै उनिहरुले बजेट फ्रिजि नहुने व्यवस्था गर्न माग गरेका हुन् । असोजदेखि चैतसम्म अत्यधिक चिसो र हिमपात हुने भएकाले यहाँका बासिन्दा जाडो छल्न बेँसी झर्ने गरेका छन् ।
“चैतदेखि असारसम्म कागजी प्रक्रियादेखि कार्यसम्पादनका सबै काम सम्पन्न गर्न सकिन्न” स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले भन्नुभयो,” “बजेट फ्रिज नहुने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेका छौँ ।”
मुस्ताङसहित २२ दुर्गम जिल्लाका सभासद् र स्थानीय विकास अधिकारीको हालै काठमाडौँमा सम्पन्न बैठकले यस्तो व्यवस्था गर्न माग गरिएको उहाँको भनाइ छ ।
“उपल्लो क्षेत्रका छ गाविसमा हिमपातका कारण अझै योजना सर्वेक्षण र सम्झौता हुन सकेको छैन, असार मसान्तभित्र कसरी काम गर्न सकिन्छ ?” जोशीले भन्नुभयो ।
सोह्र गाविस रहेको मुस्ताङको तल्लो क्षेत्रमा विनियोजन बजेटको विभिन्न किसिमका योजनाको सम्झौता धमाधम भइरहे पनि उपल्लो क्षेत्रबाट सेवाग्राही सदरमुकाम आउन सकेका छैनन् ।
चालु आवमा करिब रु पाँच करोडको योजना सञ्चालनको तयारी भए पनि प्रतिकूल मौसमका कारण कार्यसम्पादन र प्रभावकारिताका विषयमा स्थानीय चिन्तित बनेका छन् । रासस















प्रतिक्रिया