
काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसले आज सातवटै प्रदेशमा प्रदेश अधिवेशन गर्ने भएको छ ।
काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन् । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुने छन् ।
समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।
काँग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ । प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहने छन् । कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ ।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा हुने बागमती प्रदेशको अधिवेशन उद्घाटन गर्ने भएका छन् ।















प्रतिक्रिया