९ कार्तिक २०८३, सोमबार

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौँ : गगन थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् । 

सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा जस्तो चुनावको मुखमा मात्र टिकट लिने वा खोज्ने प्रवृत्ति अब अन्त्य हुने बताउँदै पार्टी विधानअनुसार नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।

मंसिर महिनालाई संगठन जागरणको महिना बनाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह पनि गरेका छन् ।

कांग्रेसले केवल निर्वाचनमा गुमाएको मतभन्दा पनि जनताको विश्वास पुन:स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता भएको थापाको भनाइ थियो ।

उनले जनताको विश्वास जितेमा मत स्वत: पछिपछि आउने स्पष्ट पार्दै पार्टीको छवि र जनधारणा सुधारका लागि प्रत्येक सदस्यले मेहनत गर्नुपर्नेमा जोड दिए । 

पार्टीले आफ्नो गत चुनावको समीक्षा गर्दै आन्तरिक तथा बाह्य कारणहरूको पहिचान गर्नुपर्ने उनले औँल्याए ।

कात्तिक १२ गते हुने शपथ ग्रहणपछि बस्ने केन्द्रीय समितिको बैठकले पार्टीको आगामी ठोस योजना तय गर्ने जानकारी दिँदै सभापति थापाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै तयारीमा जुट्न निर्देशन दिए ।

पार्टीले यसअघि नै अधिकांश सदस्यता अद्यावधिक गरिसकेको र बाँकी काम पनि छिट्टै पूरा हुने जानकारी दिँदै उनले आगामी पुस तथा माघ महिनाभित्रै उम्मेदवारको प्रारम्भिक छनोटको काम समेत सिध्याइने बताए ।