लमजुङ, १७ भदौ । लमजुङ जिल्लामा पनि नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढेको छ ।
महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते हुने निश्चित भएसँगै जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताको चहलपहल बढ्न थालेको छ ।
केन्द्रीय निर्वाचन समितिले लमजुङमा खटाएका जिल्ला निर्वाचन अधिकृत थानेश्वर दुवाडी र नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङबीच बुधवार बसेको बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने सुनिश्चित गरेसँगै तयारी प्रारम्भ भएको पूर्व पार्टी सभापति एवम् कांग्रेस नेता तुलसीनारायण श्रेष्ठले जानकारी दिए ।
लमजुङमा वडा अधिवेशन सम्पन्न गराउनका लागि भ्रातृ सङ्गठन नेपाल शिक्षक संघमा आवद्ध व्यक्तिलाई मतदान अधिकृतका रूपमा खटाइनेछ ।
लमजुङमा ७५ वडा रहेका छन् । वडा अधिवेशनका लागि हरेक वडामा एक–एक जनाका दरले शिक्षकलाई मतदान अधिकृतका रूपमा खटाइने कांग्रेसले जनाएको छ ।
वडाको अधिवेशन आउन अब केही दिन मात्रै बाँकी रहँदा लमजुङमा वडा–वडामा नेता, कार्यकर्ताबीच भेला, छलफल हुन थालेको नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति बिर्खराज गुरुङले जानकारी दिए ।
लमजुङमा भदौ १८ गते वडा अधिवेशन, भदौ २७ गते पालिकास्तरीय अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुँदैछ ।
लमजुङका सबै वडाबाट समावेशी रूपमा क्षेत्रीय प्रतिनिधि चुनिएर आउँछन् । ती प्रतिनिधिले नै नगर अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गराउनेछन् ।
एक सय ५० जनासम्म क्रियाशील सदस्य रहेका वडाबाट १६ जना, दुई सय ५० भन्दा बढी क्रियाशील सदस्य रहेका वडाबाट २६ जना र तीन सय ५० जनाभन्दा बढी क्रियाशील सदस्य रहेका वडाबाट ३६ जना क्षेत्रीय प्रतिनिधि चुनिएर आउनेछन् ।











प्रतिक्रिया