काठमाडौं, ३ असार । सरकारले गृह मन्त्रालयलाई सार्न सिंहदरबारभित्र नयाँ भवन दिएको छ ।
एमालेका नेता खगराज अधिकारी गृह मन्त्री बनेसँगै पुरानो भवनमा रहेको गृह मन्त्रालयलाई सिंहदरबारभित्रै रहेको नयाँ भवनमा सार्न लागिएको हो । मन्त्री अधिकारीले मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयका रुपमा प्रयोग गरिएको भवनमा सारेका छन् ।
गृह मन्त्रालयको दुई वटा महाशाखालाई नयाँ भवनमा सारिसकिएको छ । नयाँ भवनमा धमाधम सामानहरू सार्ने काम भएको छ ।
गृह मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी महाशाखाका प्रमुख उप–सचिव भीमकान्त शर्माले अबको एक हप्ताभित्र गृह मन्त्री र गृह सचिवको कार्यकक्ष नयाँ भवनमा सारिने जानकारी दिए । मन्त्री अधिकारीले साइत हेरेर नयाँ भवनमा आफ्नो कार्यमार सम्हाल्नेछन् ।
‘नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ । सबै सामान सार्न अलिक समय लाग्छ’, उप–सचिव शर्माले भने, ‘गृह मन्त्री र गृह सचिवज्यूको कार्यकक्षको काम सम्पन्न पूरा भइसकेको छ । मन्त्रीज्यू बस्नेत कोठा राम्रो छ । सबै काम पूरा भइसकेको छ । सचिवज्यूको कोठा मर्मत सम्भावर गर्नुपर्ने भएको छ । मर्मत गरेर ३–४ दिनमा उहाँहरू सर्नु हुनेछ ।’
गृहमन्त्री अधिकारी प्रधानमन्त्री ओलीले प्रयोग गरेको कार्यकक्षलाई आफ्नो कार्यकक्ष बनाउनेछन् । गृहसचिव महेश्वर न्यौपानेले मुख्यसचिवले प्रयोग गरेको कोठामा आफ्नो कार्यकक्ष राखेको उप–सचिव शर्माले जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुरानै भवनमा सरेपछि नयाँ भवन खाली थियो । खाली भएको भवनमा गृहमन्त्री अधिकारीले निर्णय गरेर सार्न लागेका हुन् ।
नयाँ भवनमा गृह मन्त्रालयलाई कोठाहरू पुग्नेछैन । ‘नयाँ भवनमा गृह मन्त्रालयलाई कोठाहरू पुग्दैन । अझै अपुग हुन्छ’, शर्माले भने, ‘बाँकी कार्यकक्षहरू गृह मन्त्रालयको पुरानो भवनमा रहनेछ ।’
प्रधानमन्त्री कार्यालय भवन रहेको पुरानो मूल भवन भूकम्पबाट क्षति भएपछि नेपाल टेलिभिजन नजिकै रहेको भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सारिएको थियो । पुरानो भवनलाई मर्मत सम्भावर गरेपछि मन्त्रिपरषरिद कार्यालय पुरानै भवनमा सारिएको थियो ।















प्रतिक्रिया