नवलपरासी । प्रहरी हिरासतमा रहेका लुम्बिनी चिनी उद्योग सुनवलका महाप्रबन्धक बाबुलाल अग्रवाललाई जिल्ला अदालत नवलपरासीले पुर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
उखु किसानको उखु तौल गर्दा कम तौल गरी ठगी गरेको अभियोगमा पक्राउ परेका महाप्रवन्धक अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
सोमवार भएको थुनछेकको बहस पछि जिल्ला न्यायाधीस गिरीराज गौतमको इजलासले अग्रवाललाई थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ । लामो समय जिल्ला न्यायधिबक्ता र अग्रवालका पक्षअधिबक्ताहरु बीच बहस चलेको थियो ।
प्रतिवादी अग्रवालको पक्षबाट अधिबक्ता ध्रवराज नन्द,थिरलाल पराजुली,बाबुराम खडका र गोकर्ण सिंह थापाले बहस गर्नुभएको थियो । उद्योगले रु ३३ लाख भन्दा बढी तौलमा ठगी गरेको भनि उद्योग मन्त्रालयले प्रतिवेदन प्रहरीले पठाए पछि तिन साता पहिला अग्रवाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।
ठगी मुद्दामै उद्योगका सञ्चालक तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका मनिष अग्रवाल फरार रहेका छन् । उद्योगले तीन बर्ष देखि उखु तौल गर्ने तौल मेसिन गुणस्तर तथा नापतौल विभागमा नविकरण नगराई तौल गर्दै आएको थियो । प्रति ६० क्वीन्टल उखुका १ क्वीन्टल कम उखु तौल गरी ठगि गरिरहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएको थियो ।
उजुरी पछि प्रजिअ केशवराज घिमिरेको निर्देशनमा गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बुटवलको टोलीले तौल मेसिन शिल गरेको थियो ।
तौल मेसिनको चेकजांचका लागि उद्योग मन्त्रालयले छानबिन टोली गठन गरी पठाएको थियो । सो टोलीले समेत तौलमा ठगि भएको ठहर गर्दै प्रतिवेदन पेश गरे पछि मु्द्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उद्योग सञ्चालक मनिष अग्रवाललाई देश भित्र खोजी कार्य भईरहेको र विदेशमा गए सुपुदर्गि (इन्टपोल) मार्फत पक्राउ गर्न लगाउने तयारीमा रहेको छ ।
किसानहरुले ल्याएको उखुलाई तौल गर्दा चिनी उद्योगले ६ हजार सात सय ३० क्विन्टल कम देखाएर ठगी गरेको भन्दै रु ३१ लाख ९४ हजार ८ सय ८२ रुपैया विगो दाबी सहित अदालतमा मुद्दा दायर गरिएको छ ।














प्रतिक्रिया