१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली र देउवालाई नख्खु जेलमा कोच्ने रवीन्द्र मिश्रको चेतावनी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेर बहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौँको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् ।

उनले भने, ‘बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्याउँछौँ ।’

उनले थपे, ‘नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनु हुनेछ । आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको भन्दै आफूहरू ठुला कुरा गर्न नहिचकिचाउने बताए ।’

दलहरूले न्यायालयमा समेत भागबन्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए ।

राज्यका हरेक निकायहरू पार्टीका भागबन्डा मै गाँजिएकाले देशले दुख पाएको बताउँदै अध्यक्ष मिश्रले समतामूलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए।