
पोखरा, २ फागुन । श्रमजीवि र जनपक्षीय पत्रकारको अगुवा संगठन प्रेस संगठन नेपालको प्रदेश स्तरीय भेला सम्पन्न भएको छ ।
समृद्ध नेपाल निर्माणका लागि ‘पूर्ण प्रेस स्वतन्त्रता सहितको सवल श्रमजिवी पत्रकार, स्थिरता विकास र राष्ट्रिय स्वाधिनताको रक्षा प्रेस संगठनको आधार’ भन्ने मुल नाराका साथ गण्डकी प्रदेशका संयोजक सुस्मा पौडेलको संयोजकत्वमा भेला सम्पन्न भएको थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेललको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निम्न १३ प्रस्तावहरु पारित गरेको छ ।
१) संवैधानिक सर्वोच्चतालाई आत्मसात् गर्दै तोकिएको समय निर्वाचन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दछ । निर्वाचनमा जाने घोषणा सर्वोत्तम लोकतान्त्रिक विधि भएको यो भेला ठहर गर्दै निर्णय स्वागत गदर्छ ।
२) श्रमजीवि पत्रकार ऐन कार्यन्वयका लागि भूमिका खेल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
३) अभिव्यक्ति स्वतन्त्रताको नाममा हुने कुनैपनि अभद्र, अश्लिल गालि गलौजलाई निरुत्साहित गर्दै प्रेस स्वतन्त्रताको पक्षमा प्रेस संगठन नेपाल दृढ संकल्प गर्दछ ।
४) विभिन्न वहानामा सञ्चार संस्थाहरुले श्रमजीवि पत्रकारको पारिश्रमिक रोक्ने निष्काशन गर्ने, जागिर छोड्न बाध्य पार्ने सञ्चार संस्थालाई न्यूनतम पारिश्रमिक ऐनअनुसार व्यवस्थापन गर्न जोडदार माग गर्दै रोकिएको पारिश्रमिक तत्काल दिन सम्बन्धित सञ्चार संस्थासँग जोडदार माग गर्दछ । साथै सञ्चार माध्यमलाई समावेशी र लैगिकमैत्री बनाउँन माग गर्दछ ।
५) कोरोना संक्रमणको कारण मृत्यु हुने श्रमजीवि पत्रकारहरुको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै उचित राहतको व्यवस्था गर्न जोडदार माग गर्दछ । साथै कोरोना बिमा गरेको रकम भुक्तानीमा भइरहेको ढिला सुस्तिप्रति खेद व्यक्त गर्दै बिमाको रकम तत्काल भुक्तानी दिन सम्बन्धित पक्षलाई आग्रह गर्दछ
६) सांगठिनक संरचनामा राज्यले अंगिकार गरेको समावेशिताको सिद्धान्तलाई अवलम्बन गर्दै कार्यान्वयन गर्न पनि यो भेला माग गर्दछ ।
७) पत्रकारिता पेशालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन आचार संहिताको पूर्ण पालना गर्दै क्षमता अभिबृद्धि हुने खालका कार्यक्रम सञ्चालनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दछौं ।
८) विकसित राजनीतिक परिस्थितीअनुसार संगठनलाई प्रदेशमा र जिल्ला तहमा क्रियाशिल र गुणस्तरीय बनाउन यो भेला संकल्प गर्दछ ।
९) कोरोना विरुद्धको खोप पत्रकारलाई पनि लगाउने सरकारको निर्णय स्वागत गर्दै उक्त खोप आम नागरिकको पहुँचमा छिटो पुर्याउन माग गर्दछ ।
१०) प्रदेश सरकारअन्र्तगत गठन हुनुपर्ने प्रेस रजिष्टारको कार्यालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग विशेष आग्रह गर्दै आम संचार ऐन र एफ एम सञ्चालन सम्बन्धी ऐन तत्काल निर्माण गरी कार्यान्वयन गर्न माग गर्दछ ।
११) नेपाल सरकारबाट प्रदान गरिने प्रेस पत्रकार परिचयपत्र, सञ्चार माध्यम नविकरण लगायतका काम जिल्लाबाट हुने नेपाल सरकारको निर्णयको स्वागत गर्दै अविलम्ब कार्यान्वयनको लागि जोडदार माग गर्दछ ।
१२) राष्ट्पति तथा संवैधानिक र विभिन्न ओहोदामा रहेका तथा आम महिलामाथि यौनिकताका आधारमा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा हुने चारित्रीक गालीगलौज बन्द गर्न र दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दछ ।
१३) प्रदेशस्तरीय भेला आयोजनाका क्रममा प्रमुख अतिथिको रुपमा पाल्नुहुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत सम्पूर्ण अतिथि तथा व्यवस्थापनमा सहयोग गर्ने प्रेस संगठन कास्की शाखालाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।














प्रतिक्रिया