१२ कार्तिक २०८३, बिहिबार

सिंहदरबार पुनर्निर्माण के कति भयो ? बाँकी कसरी हुँदैछ ? (तस्वीरसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । वि.सं. १९६० सालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जबराको कार्यकालमा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक युरोपमा विकास भएको नियो-क्लासिकल शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प अगाडि यो भवनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ रहेको थियो । उक्त कार्यालय बाहेक राष्ट्रिय योजना आयोग, रक्षामन्त्रालय लगायतका महत्वपूर्ण सरकारी निकायहरु समेत यसै भवनभित्र रही सेवा प्रदान गर्दै आएका थिए ।

वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तह खानासहित पाँचतले भवनका विशेषतः चारवटा महत्वपूर्ण भाग छन् । वि.सं. २०३० मा यस भवनमा आगलागी हुँदा भवनको पश्चिमी मोहडाबाहेक अन्य तीनवटा मोहडाहरु उत्तर, दक्षिण तथा पूर्व मोहडाहरु जलेर नष्ट भएका थिए ।

उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल १२४६१.८१ वर्गमिटर र पश्चिमी मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल ६१८९.०८ वर्गमिटर रहेको छ ।

यसरी जलेर नष्ट भएका तीनवटा खण्डहरु (मोहडाहरु) वि.सं. २०३७ सालमा पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो । पुर्ननिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरिएको थियो ।

तर, भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा रही आएको थियो । यसमा पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग हुँदै संरक्षण गर्दै आइएको थियो । जुन कुरा ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहिआएको छ ।

वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भुकम्पले यस भवनलाई समेत नराम्ररी क्षति पुर्याएको थियो । यस भवनलाई भत्काएर नयाँ बनाउने वा प्रवलीकरण गरी पुनर्निर्माण गर्ने विषयले राष्ट्रिय महत्व पाएको थियो ।

अन्तत्वगत्वा, सम्पदा संरक्षणको दृष्टिकोणले यस भवनलाई पुरानै शैली र स्वरुपमै बचाउन प्रवलीकरण नै गर्न उपयुक्त ठानी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट प्रवलीकरण गर्ने कार्य भइरहेको छ ।

उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, बण्डिंग केमिकलहरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको छ ।

यसरी प्रवलीकरण गर्दाआर.सी.सी., एन्करिंग, स्ट्रक्चरल स्टिल तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भुकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको छ ।

प्रवलीकरण प्रविधिमा बोथ साइड कंन्क्रिट ज्याकेटिंग, केमिकल बण्डिंग एजेन्ट (इपोक्सी) प्रयोग गरी एन्करिंग तथा स्ट्रक्चरल स्टिल प्रयोग गरी स्ट्रेदेनिंग गर्ने कार्यहरु भएको छ ।

साथै उक्त उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागहरुलाई सुरक्षित गरेपश्चात भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन मेकानिकल, इलेक्ट्रिल, प्लम्बिंग (एमईपी) र आईटी एण्ड सेक्युरिटीका कार्यहरु जस्तै फायर फाइटिंग, एयर कण्डिसनिंग (एचभीएसी), सीसीटीभी, ल्याण्डस्केपिंग र बगैँचालगायतका सौन्दर्यकरणका कार्यहरु सम्पन्न गरिएको छ ।

साथै, हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप आवश्यक पर्ने कार्यकक्ष तथा बैठक कक्षहरु समेत निर्माण गरिएका छन् । फिनिसिङ तथा फर्निचरहरुको समेत पर्याप्त तथा उपयुक्त ढंगले व्यवस्था गरिएको छ ।

यसबाट कार्य वातावरणमा अनुकूल प्रभाव पर्न गई कर्मचारीहरुको मनोवल एवम् कार्य कुशलतामा अभिवृद्धि भई अन्तत्वगत्वा सेवा प्रवाहमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसरी उत्तर, दक्षिण र पूर्वी खण्डको प्रवलीकरण तथा फिनिसिङ फर्निचरसहितको सम्पूर्ण कामहरुलाई प्रथम चरण र द्वितीय चरणमा ठेक्का व्यवस्थापन गरी हालसम्म भ्याटबाहेक रु. ८७ करोड ठेक्का सम्झौता अंकको लागतमा निर्माण कार्य सम्पन्न हुने अवस्थामा आइपुगेको छ ।

यसरी प्रथम चरणको ठेक्कामा परामर्शदाता डि.वि. मल्टि इन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रा.लि. र निर्माण व्यवसायी शर्मा-न्यू टेक्निकल जे.भी.रहेका छन् । दोस्रो चरणको ठेक्कामा परामर्शदाता डि।वि. मल्टि इन्जिनियरिङ्ग कन्सल्टेन्ट प्रा.लि. र निर्माण व्यवसायी शर्मा-माइक्रोटेक-न्यू टेक्निकल जे.भी. रहेका छन् ।

त्यसैगरी पुरातात्विक सम्पदाको हिसाबले अत्यन्तै महत्वपूर्ण पश्चिमी मोहडा खण्डलाई पुरानै शैली, प्रविधि तथा पुरानै निर्माण सामग्रीहरु जस्तै काठ, फलाम, सुर्की चुना आदि प्रयोग गरी पुरातात्विक महत्व नबिग्रिने गरी प्रवलीकरण गर्ने कामको थालनी वि.सं. २०७६ असोज २७ बाट भएको छ । भ्याट बाहेक करिव रु. ४६ करोड ८८ लाख लागतमा सम्पन्न हुने उक्त पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ ।

सो कार्यलाई मिति २०७८ साल आश्विन २६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसमा परामर्शदाता आईईआरसी-इकोकोडी नेपाल जे.भी. र निर्माण व्यवसायी शर्मा-गौरी पार्वती-न्यू टेक्निकल जे. भी. रहेका छन् ।