काठमाडौँ, १६ चैत । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा प्रस्तावित पाँचै जनालाई आज सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको आजको बैठकले दीप बस्न्यात, नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई आयुक्त पदमा अनुमोदन गरेको हो ।
आयुक्तमा अनुमोदित बस्न्यात, घिमिरे र जोशी विभिन्न मन्त्रालयमा सचिव पदबाट सेवा निवृत्त हुनुभएका प्रशासक हुनुहुन्छ भने पाठक नायव महान्यायाधिवक्ताबाट सेवा निवृत्त हुनुभएको हो । श्रीमती गुरुङ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।
सुनुवाइ समितिमा उहाँहरुले अख्तियारका काम कारवाहीलाई प्रभावकारी बनाउन अनुसन्धान पद्धतिमा सुधार ल्याउने र भष्ट्राचार नियन्त्रण गर्ने, अख्तियारको जिम्मेवारीलाई पूर्णता दिन राजनीतिक नेतृत्वबाट समेत इच्छा शक्ति र प्रतिबद्धता आउनु पर्ने धारणा राख्नुभएको थियो ।
संवैधानिक परिषद्को सिफारिसलाई अनुमोदन गर्दै मन्त्रिपरिषद्ले केही साताअघि उहाँहरूलाई आयोगको आयुक्तमा नियुक्तिका लागि प्रस्ताव गरेको थियो । नेपालको अन्तरिम संविधान, २०६३ अनुसार संसदीय सुनुवाइबाट अनुमोदन भएका पदाधिकारीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ ।














प्रतिक्रिया