
काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुट्ने बताएका छन् ।
यद्यपि, एकता भने भंग भएर पूर्वसमूहहरु आआफ्नै बाटो लाग्न सक्ने उनको विश्लेषण छ ।
सोमबार विहान बालुवाटारमा आफू निकट नेताहरुसँग उनले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्दै यस्तो बताएका हुन् ।
पार्टी एकता भंग भएपछि निर्वाचन आयोगले नेकपा एमाले र सूर्यचिन्हलाई मान्यता दिने संकेत प्रधानमन्त्री ओलीले संकेत गरेका छन् भने पूर्वमाओवादीले पहिलेकै चिन्ह प्राप्त गर्ने उनको अनुमान छ ।
दुई अध्यक्षको सहमतिबिना बैठक बसे त्यो अवैधानिक हुने तर्क गर्दै प्रधानमन्त्री ओलीले एकता भंग भएर पूर्व एमाले र माओवादी सक्रिय हुने विश्लेषण गरे ।
प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि संसद विघटन गर्नुपरेको बताएका छन् ।
राष्ट्रपतिमाथिको आलोचना सहँदै आए पनि महाअभियोग लगाएर गणतन्त्रको बदनाम गराउन खोजेपछि संसद विघटन गर्नुपरेको उनको भनाइ छ ।
सरकारलाई कामै गर्न नदिएर घेराबन्दी गरिएको र अध्यादेश ल्याएर काम गर्नुपर्ने अवस्था बनाएकाले बाहिरी कारणले नभई आफ्नै पार्टीभित्रको अवस्थाले संसद विघटन भएको प्रधानमन्त्रीले बताएका थिए ।















प्रतिक्रिया