२८ आश्विन २०८३, बुधबार

के हो खरेलको कमजोरी ? को–को हुन ब्रिफकेस बोक्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

समाचार टिप्पणी

राष्ट्रकै हिरोको रुपमा छवि बनाएका एसएसपी रमेश खरेललाई गृह मन्त्रालयले सरुवा गरी कारबाहीको तयारी थालेको छ । सरुवाको लागि प्रहरी प्रधान कार्यालयले पठाएको प्रक्रिया गृहले स्वीकृत गरेपनि निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचन आयोगको स्वीकृती नहुँदा मंगलबार मात्र उनको सरुवा हुन लागेको स्रोत बताउँछ ।

कमजोरी समातेर खरेललाई काठमाडौंबाट सरुवा गर्ने गृहमन्त्री वामदेव गौतम लगायत केही अधिकारीको योजना सफल भएको छ । भ्रष्ट डिआईजीलाई बढुवा नगर्न खरेलले भाषण गरेपछि उनी कारबाहीमा परेका हुन् ।

खरेलको सरुवा हुने भएपछि नेता र डनहरूले खुशी भएका छन् । भ्रष्ट डिआईजीलाई बढुवा गर्न आग्रह गरेकै आधारमा खरेललाई कारबाही भएमा यसले अन्याय हुने भन्दै सरकारको निर्णयप्रति प्रहरीमै समेत असन्तुष्टि देखिएको छ । परराष्ट्रमन्त्री महेन्द्र पाण्डे प्रमुख अतिथि रहेको एक पुरस्कार वितरण समारोहमा एसएसपी खरेलले पैसाको ब्रिफकेस बोकर नेताको घरघर चहार्ने डिआईजीलाई नभई इमान्दार डिआईजीलाई एइआईजीमा बढुवाका लागि आग्रह गरेका थिए । सोर्सफोर्स बिना इमान्दार व्यक्तिलाई बढुवा गरेर उदारणीय काम गर्न उनले आग्रह गरेका थिए । सोही विषयलाई लिएर पदीय मर्यादाविपरीत बोलेको भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी विज्ञानराज शर्माको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको थियो । छानबिन समितिको रिपोर्ट नआउदै उनलाई उनलाई हटाइएको हो ।

कारबाही गर्न मात्र होइन्, आइतबार नै खरेललाई काठमाडौं परिसरबाट हटाउन केही प्रहरी अधिकारी र गृहमन्त्री समेत लागेका थिए । तर, छानबिन समिति गठन गरेर मात्र निर्णय लिनुपर्ने धेरैको अडान थियो । तैपनि सोमबार गृहमन्त्रीकै जोडमा उनको सरुवा भएको स्रोत बताउँछ ।

यसअघि गृहमन्त्रीसँगको टसलमा आईजीपी अर्यालले वामदेवलाई साथ दिएपनि यसपटक भने आईजीपी अर्यालसमेत खरेलसँग रुष्ट छन् । गृहमन्त्री वामदेव गौतम खरेललाई हटाउने मौका कुरेर बसेका थिए । शनिबारको भाषणले उनले त्यो वहना पाएका छन् ।

खरेलका कमजोरी

आवेगप्रेरित निर्णयका कारण भारतमा अरविन्द्र केजरीवाल एक वर्षको बीचमा राष्ट्रिय हिरो बने र गत महिना सम्पन्न लोकसभा निर्वाचनबाट फेरि जिरो बन्न पुगेका छन् । ढंग पुर्‍याउन नसक्दा खरेलको पनि केजरीवालकै हालत भएको हो । प्रहरी नियमावली २०७१ को दफा ९९ मा प्रष्ट रुपमा प्रहरी अधिकारीले जभाभावी टिप्पणी गर्न नपाइने कुरा प्रष्ट रुपमा उल्लेख गरिएको छ । तर, पनि बेला बेलामा खरेलको टिप्पणीले प्रहरीको पदीय मर्यादाबाहिर जाने गरेको छ । यसअघि टेलिभिजन अन्र्तवार्तामा केही प्रहरी अधिकारीलाई मात्र राम्रो प्रहरीका रुपमा गरेको टिप्पणी होस् वा पछिल्लो भाषण नै होस् । उनले अवश्य पनि पदीय हिसाबले केही सीमा पार गरेका छन् । यस विषयमा उनले आफूलाई सुधार गर्नु जरुरी छ । तर, खरेलले जे बोलेका छन्, त्यो कसैमाथि आरोप प्रत्यारोप भन्दा देश र प्रहरीको सुधारमै पक्षमा आवाज उठाएका हुन् । तर के बोल्यो भन्दा पनि किन बोल्यो भनेर उनलाई जसरी पनि कारबाही गराउने पक्षमा एकथरी राजनीतिक नेतृत्व मात्र नभई प्रहरी अधिकारी नै लागेको थिए । जसमा उनीहरू सफल छन् ।

त्यसो त अनुसन्धानमा पनि खरेल निष्पक्ष हुन सकेका छैनन् । केही व्यक्तिहरूलाई नियतबश फसाएको जस्तो देखिन्छ । ब्याजका नाइके महेश सिंहदेखि रेष्टुरेन्ट व्यवसायी सुदर्शन बस्नेतसम्मको केसमा उनले एक पक्षीय रुपमा अनुसन्धान गरी उनीहरूलाई जसरी पनि जेल हाल्नुपर्छ भनेर लागे ।

त्यस्तै गुण्डागर्दी अप्रेसन अभियानमा पनि उनले धेरै निर्दाेष व्यक्तिलाई २४ दिनसम्म थुने । धेरैविरुद्ध जाहेरी आउन सकेन । प्रमाणमुखि अनुसन्धानमा नगरेको भन्दै यसमा प्रहरीबाटै पनि उनको आलोचना भयो । यद्यपी उपत्यकालाई गुण्डागर्दी नियन्त्रणमा भने उनले महत्वपूर्ण सफलता पाएका थिए ।

राजनीतिक दलकै धेरै कार्यकर्तालाई उनी निकै कडा रुपमा प्रस्तुत भएका थिए । नेविसंघका नेता सचिन शर्मा र शुभराम बस्नेतलाई पक्राउ गरेको घटना होस् वा युवासंघका नेता अमित लामालाई पक्राउ गरेको घटना होस, त्यसमा उनले बढी अन्याय गरेको आरोप छ ।

केही कमजोरीका बाबजुत पनि खरेल प्रहरीका हिरो नै हुन् । प्रहरीमा उनले पुलिसिङको ट्रेन नै बदलेका छन् । राम्रो काम गरेर चर्चित बन्ने अहिलेको चलन धेरैले खरेलबाट नै सिकेका हुन् । जसले नेपाल प्रहरीमा ठुलो सुधार ल्याएको छ । खरेल प्रहरीमा रोलमोडल नै बनिसकेका छन । त्यसकाण भ्रष्टको विरोध गरी इमान्दारको पक्षमा बोलेकै आधारमा खरेलको सरुवा हुदा मान्दारहरूको शिर निहुरिएको छ भने र भ्रष्टहरूको जगजगि बढेको छ ।

को–को छन् ब्रिफकेस बोक्ने ?

बढुवाका प्रतिस्पर्धीमध्ये एसएसपी खरेलको तीन जना डिआईजीसँग मात्र सुमधर सम्बन्ध छ । राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह र विज्ञानराज शर्मासँग उनको निकतम सम्बन्ध छ । अरु डिआईजीहरूलाई खरेलले भ्रष्ट भन्दै आएका छन् । हुन पनि अन्य डिआईजीको छवि राम्रो छैन । खरेलको करिअर नबिग्रियोस् भनेर नै आईजीपी उपेन्द्रकान्त अर्यालले खरेल निकट शर्मालाई छानबिन समितिको संयोजक बनाएको स्रोत बताउँछ ।

बढुवाका प्रतिस्पर्धीमध्ये गणेश राई, प्रतापसिंह थापा, वीरेन्द्रवावु श्रेष्ठ, यादव अधिकारी, परशुराम खत्री, बिश्वराजसिंह शाही कार्यक्षमता र बरिष्ठता दुवैमा पछाडी छन् । भाइ एनपी साउद मन्त्री भएकाले डिआईजी केदार साउद भने आर्थिक चलखेलकै आधारमा बढुवा हुने दाउमा छन् । रमेशशेखर बज्राचार्य कार्यक्षमता र बरिष्ठता दुवैमा अगाडि रहेकाले छुट्ने कम सम्भावना छ भने अन्तिम स्थानमा रहेका सुशीलवरसिंह थापाले खासै दौडधुप गरेका छैनन् । पैसा बुझाएर बढुवा हुनुभन्दा असोजमा घर जाने उनले बताउने गरेका छन् ।

केही डिआइजीहरुले बढुवाका लागि अनावश्यक चलखेल गरिरहेको भन्दै प्रहरी प्रधान कार्यालयमै विरोध भइरहेको छ । त्यसैलाई सांकेतिक रुपमा खरेलले आफ्नो भाषणमा व्यक्त गरेका हुन् । नियमावली संशोधन गरी बढुवा प्रक्रिया अघि बढेपछि केही डिआईजीहरू बिहान बेलुकै नेताको घरमा धाइरहेका छन् । तिनै डिआईजीलाई लक्षित गरी खरेलले त्यस्तो टिप्पणी गरेका थिए । इमान्दार व्यक्तिलाई बढुवा गरेर देशमा ‘एक्ज्याम्पल सेट’ गर्न गरेको आग्रहलाई राजनीतिकरण गरेर उनलाई कारबाही गर्नु अन्याय हुने निश्चित छ । ‘इमान्दारलाई बढुवा गर्नपर्छ भनेर बोल्दा उनलाई कारबाही भयो भने प्रहरीमा भ्रष्टको जगजगी हुन्छ,’ एक बरिष्ठ प्रहरी अधिकारीले भने । तर खरेलले बोलीमा भन्दा काममा ध्यान दिनुपर्ने प्रहरी अधिकारीको भनाइ छ ।