काठमाडौं, ११ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक आह्वान गर्ने विषयमा छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकलाई आज निमन्त्रणा गरेका छन् ।
संविधानका विवादित विषयमा सहमति जुटाउन दललाई सभाध्यक्ष नेम्वाङले आजसम्मको समयसीमा प्रदान गरेका थिए । एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेको र दलबीच सहमति हुन नसकेको सन्दर्भमा भावी रणनीति कसरी तय गर्ने भन्ने विषयमा प्रमुख सचेतकसँग सभाध्यक्षले छलफल गर्न लागेका हुन् ।
लामो समयसम्म संविधानसभाको बैठक स्थगन गर्न नमिल्ने र तत्काल सहमति जुटाउन नेम्वाङले पटक पटक प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्दै आएका छन् ।
उनको आग्रह विपरीत प्रमुख दलका शीर्ष नेताको हालसम्म औपचारिक बैठकसमेत बस्न सकेको छैन । अनौपचारिक संवाद भए पनि ठोस प्रगति हुन नसक्दा संविधानसभाको बैठक अनिश्चित बन्दै गएको छ ।
केही दिन पहिले मात्रै सभाध्यक्ष नेम्वाङले प्रमुख दलका शीर्ष नेतालाई बोलाएर तत्काल सहमति गर्न आग्रह गरेका थिए ।
शीर्ष नेताले आफूहरू संवादमा रहेको र छिट्टै सहमति हुने विश्वास दिलाए पनि सहमति भए नभएका बारे प्रमुख दलका शीर्ष नेताले हालसम्म आफूलाई जानकारी नगराएको बताउँदै आएका छन् ।














प्रतिक्रिया