१२ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय एकता टुट्नेगरी माओवादीसँग संघीयतामा सहमति हुँदैन् : एमाले सचिव विष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokrna-bistaबाग्लुङ, १० चैत । नेकपा एमालेका सचिव एवं पूर्वउर्जामन्त्री गोकर्ण विष्टले राष्ट्रिय एकता टुट्नेगरी संघीयतामा सहमति नहुने बताउनुभएको छ । बागलुङको भकुण्डेमा सम्पन्न सभालाई सम्बोधन गदै्र्र सचिव विष्टले संघीयताकै विषयमा कुरा नमिल्दा संविधान बन्न नसकेको बताउनुभयो ।

सचिव विष्टले मुलुक संघीय गणतान्त्रिक भइसकेको उल्लेख गर्दै जातजाती, भाषाभाषी र धर्म संस्कृतिको अधिकार रक्षा हुनेगरी संघीयता निर्माण गरिने बताउनुभयो । संविधान जारी हुन नसक्दा मुलुकमा संक्रमणकाल लम्बिएको उल्लेख गर्दै नेता विष्टले संक्रमणकाल अन्त्यका लागि प्रक्रियामा गएर संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली राजनीतिमा परिवारवाद हावी हुंदा मुलुकको विकास हुन नसकेको उल्लेख गर्दै परिवारवाद र सहानुभूतिले देशको विकास हुन नसक्ने बिष्टको भनाई छ । सचिव विष्टले आदिवासी जनजाती, दलित, महिलाहरुको मुक्तिका लागि सधैभरी आवाज उठाइरहेको दावी गर्नुभयो ।

मुलुकमा बढ्दै गईरहेको जातीय तथा वर्गीय भेदभाव अन्त्यका लागि एमालेले स्पष्ट नीति अगाडि सारेको उल्लेख गर्दै एमालेको नीति अनुसार मुलुकलाई अगाडि बढाउन सके मुलकको विकास द्रत गतिमा अगाडि बढ्ने दावी गर्नुभयो ।

बागलुङमा हुन गईरहेको उपनिर्वाचनलाई लक्षित गरी सचिव विष्टले वर्गीय तथा महिला मुक्तिका लागि एमालेका उम्मेदवार मनकुमारी केसी सशक्त उम्मेदवार रहेको दावी गर्नुभयो । नेपालमा समावेशीता लागू भएपछि ठूलाबडाले परिवारवाद, सहानुभूतिका नाममा अधिकार पाएको उल्लेख गर्दै उनीहरुबाट पछाडी पारिएका समुदायको अधिकार सुनिश्चित हुन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य एवं एमालेका उम्मेदवार मनकुमारी केसीले भकुण्डेमा पर्यटकीय स्थलहरुको विकास गर्न सके जिल्लालेनै ठूलो फाइदा लिन सक्ने बताउनुभयो । उहाँले भकुण्डेलाई होमस्टे गाउं र सूर्यदोय अवलोकन गर्ने गाउंको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा एमालेका युवा नेता इन्द्रलाल सापकोटा, जिल्ला सचिवालय सदस्य गणेश थापा, बागलुङ क्षेत्र नम्बर एकका अध्यक्ष लालबहादुर थापा, क्षेत्र नम्बर दुईका अध्यक्ष दुर्गाबहादुर खड्का, युवा संघ नेपालका अध्यक्ष प्रेम लामिछाने, युवा नेता डाक्टर सूर्य पाठक, अनेमसंघका क्षेत्रीय अध्यक्ष लक्ष्मी बोहरा लगायतले बोल्नुभएको थियो ।

गाउँकमिटी अध्यक्ष विजय थापा प्रेमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत समाजसेवी खिमबहादुर थापा र सञ्चालन उमाकान्त शर्माले गर्नुभएको थियो ।