काठमाडौं । गृहमन्त्रीमा वामदेव गौतम नियुक्त हुनु र काठमाडौंको प्रहरी प्रमुखका रुपमा रमेश खरेल आउनु करिब एक महिनाको अन्तरमा मात्रै भएको थियो । वामदेव र रमेशको स्वभाव एउटै छ, दुवै हक्की र जोशिला । तर, स्वभाव मिले पनि यिनीहरु कहिल्यै मिलेनन् ।
चाहे त्यो सही होस् या गलत । हक्की स्वभावका वामदेव आफूलाई मनमा लागेको कुराको अड्डी छाड्दैनन् । खरेल त झन् नेतालाई गन्दै गन्दैनन् । बरु, मिडियालाई हतियार बनाएर नेतालाई प्रहार गर्न माहिर छन् ।
यीकारण गृहमन्त्री नियुक्त हुनासाथ खरेलसँग गौतमको ठाकठुक सुरु भइसकेको थियो । खरेलको ‘हिरोइजम’बाट आजित वामदेवले केही दिनमै त्यो कुण्ठा पोखिहाले । युवा संघको भेलामा र्याखर्याख्ती पारेपछि युवाहरुलाई मत्थर पार्न वामदेवले आफ्नो रिस खरेलतिर सोझाए । तर, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नै खरेलको पक्षमा उभिएकाले गृहमन्त्री गौतमसँग बोलेर रिस मार्नुबाहेक कुनै विकल्प थिएन ।
अझ आफूलाई थाहै नदिई काठमाडौंका तीन जना डिएसपीलाई छानीछानी सरुवा गर्दा समेत गौतमले चुँ समेत गरेनन् । जबकी उत्कृष्ट काम गर्दागर्दै पनि एमाले पृष्ठभूमिका तीन जना डीएसपीलाई छानीछानी खरेलको सिफारिसमा काठमाडौंबाट हटाइएको भन्दै त्यसको आक्रोश बल्खुले गौतममाथि पोख्न थालिसकेको थियो ।
गौतमका लागि टाउको दुखाई बनेका खरेल यतिबेला भने ‘कुच्चोले बढार्नुपर्ने फोहोर हावाले उडाएजस्तै’ भएको छ । प्रहरी मुख्यालय स्रोत भन्छ, ‘गृहमन्त्री नियुक्त भएदेखि नै गौतम खरेलसँग असन्तुष्ट थिए । तर, प्रहरी महानिरीक्षकको साथ नपाएका कारण खरेललाई चलाउन सकेका थिएनन् । अहिले उनलाई गतिलो बहाना मिलेको छ ।’
गृहमन्त्रीले कारबाही गर्न खोज्दा समेत अडान लिएका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल यतिबेला भने आफै खरेललाई कारबाही गर्नुपर्ने पक्षमा उभिएका छन् ।जसका कारण उनले छानबिन समिति मात्रै बनाएनन्, त्यसको भोलिपल्टै हेडक्वार्टरको जगेडामा लगेर खरेललाई थन्काइदिए ।
खासगरि खरेलमाथि संगठनको नीति विपरीत बोलेको मात्र होइन, आफूभन्दा माथिका अधिकृतलाई होच्याएको, अपमान गर्ने गरेको, जनमानसमा राम्रो प्रभाव देखाउन जे पनि गर्न तयार भएको जस्ता आरोप लागेको छ ।
खरेलमाथि लागेका केही आरोप यस्ता छन् :
– पूर्व एआईजी रमेश श्रेष्ठलाई आफ्नै कार्यकक्षमा अभद्र व्यवहार गरेको ।
– गुण्डालाई पहिला पक्राउ गर्ने र पछि जर्बजस्ती जाहेरी दिन लगाएर मुद्दा चलाउने गरेको । गुण्डा अपरेशनका नाममा अपराधीलाई पक्रने र दुई तीन दिनपछि छाड्ने गरेको । जसले अपराधीलाई चोख्याउने नियत देखिएको ।
– प्रहरी संगठनको मिडिया नीतिभन्दा बाहिर गएर मिडियामा प्रस्तुत भएको ।
– प्रहरी महानिरीक्षकलाई समेत अप्ठेरो पार्ने गरी पटकपटक अभिव्यक्ति दिएको ।
– सस्तो लोकप्रियताका लागि खरेलले सञ्चार माध्यममा खुलेरै राज्य संयन्त्र कमजोर छ भन्ने अभिव्यक्ति दिएको ।
– सेलिब्रेटीले जस्तै सुशील कोइराला, कमल थापा, रविन्द्र अधिकारी र गगन थापा आफूलाई मनपर्ने नेता भएको भनेर अन्तरवार्ता दिएको ।
– एसएसपी भएर डीआइजीको मुल्यांकन गर्दै जथाभावी बोलेको । विभिन्न संचार माध्यममा महानिरीक्षक उपेन्द्रकान्त अर्याल, डीआइजी राजेन्द्रसिंह भण्डारी, विज्ञानराज शर्मा, अपराध अनुसन्धानका सुरेन्द्रबहादुर शाह र एसपी प्रद्युम्न कार्कीबाहेक अरु राम्रो नदेखेको भन्दै बाँकी प्रहरी अधिकृतको अवमुल्यन गरेको ।
– गृहमन्त्रीले भेटन बोलाउँदासमेत अटेर गरी नगएको ।
– राजनीतक आग्रह राखेर युवा संघका केन्द्रीय सदस्य अमीत लामा लगायतलाई बिनाकारण पक्राउ गरेको ।
– गृहमन्त्रीलाई पावर देखाइदिन एमाले पृष्ठभूमिका डीएसपीहरुः स्वयम्भुका दयानिधि ज्ञवाली, महाराजगन्जका प्रभु ढकाल र बानेश्वर वृत्तका रेवती ढकाललाई राम्रो काम गर्दागर्दै पनि आफू मातहतको बृत्तबाट हटाउन सिफारिस गरेको ।
– सार्वजनिक कार्यक्रममै डीआइजीहरु एआइजी हुन पैसाको ब्रिफकेस बोकेर नेता र मन्त्रीको घर धाइरहेको बताएको ।














प्रतिक्रिया