१२ कार्तिक २०८३, बिहिबार

सरकारविरुद्ध पाँच माओवादीले चैत २३ मा देशव्यापी प्रदर्शन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-biplap-and-Baidhyaकाठमाडौँ, ८ चैत । सरकारले शान्ति सम्झौता तोडेको निष्कर्ष निकाल्दै एकीकृत नेकपा माओवादी नेतृत्वका पाँच माओवादी सहित ६ राजनीतिक दलले चैत २३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

नेकपा-माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको संयुक्त बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको भन्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन् ।

बैठकले १४ गते संयुक्त अन्तरक्रिया गर्ने र २३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । शान्ति सम्झौतालाई उल्ट्याएर जाने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने भन्दै त्यसो नगर्न सरकारलाई सुझाव समेत दिएका छन् ।

दसवर्षे जनयुद्धकालमा मारिएका सहिद परिवारलाई दिने भनिएको रु १० लाख क्षतिपूर्तिमा रु पाँच लाख रकम र रु पाँच लाख माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर दिने भनिए पनि सो निर्णयबाट सरकारपछि हटेको निष्कर्ष निकाल्दै पूर्ववत् निर्णयमा कायम रहन सचेत गराएको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभयो ।

यस्तै, द्वन्द्वको समयमा सेना, प्रहरीबाट जागिर छाडेर माओवादीको लडाकुमा समाहित भएका वा नभएका दुवैलाई सरकारले पक्राउ गर्न थालेकामा आपत्ति प्रकट गर्दै संयुक्त बैठकले मुलुकलाई सङ्टकग्रस्त बनाउने काम नगर्न आग्रह गरेको उहाँको भनाइ छ ।

पार्टी एकताका लागि विगतमा गठन गरिएको कार्यगत एकता समितिलाई थप मजबुत बनाउने र पार्टी एकताको आधार तयार पार्ने निर्णय गरेको नेकपा माओवादीका संयोजक मातृका यादवले जानकारी दिनुभयो ।

बैठकमा एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, माओवादीका अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृतका महासचिव परि थापालगायतका नेताहरुको सहभागिता थियो ।