
काठमाडौँ, २१ असोज । यती एअरलाइन्सले १२ वर्षपछि वुधबारदेखि सिमरामा उडान सुरु गरेको छ ।
आफ्नो २२ औँ वर्षको अवसरमा कम्पनीले सिमरामा उडान सुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं.२ मा दोस्रो गन्तव्य हो ।
एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर बुधबारदेखि सिमरा उडान सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार नाइन एन एएलएच कल साइन भएको जेटईस्ट्रीम–४१ विमानमार्फत वुधबार बिहान ९ : १० बजे पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ पौने पाँच बजे हुनेछ ।
‘अब सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुहरुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान सुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’, प्रवक्ता बर्तौलाले भने ।
बुधबार पहिलो दिन काठमाण्डौ–सिमरा–काठमाण्डौ उडान गर्ने यात्रुमध्ये गोला प्रथामार्फत एक जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराइएको समेत उनले जानकारी दिए ।
यतीले अहिलेको लागि प्रमोशनल भाडा काठमाण्डौ–सिमरा–काठमाण्डौको एकतर्फी भाडादर एक हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।
यती एअरलाइन्सले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।















प्रतिक्रिया