परासी, ८ भदौ । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नागरिकको सेवामा खटिदैँ गर्दा आफू पनि सङ्क्रमित हुन पुगेको अध्यक्ष गुप्ताले बताए ।
अध्यक्ष गुप्ताले आफूसहित परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको र अहिले होम आईसोलेसनमा रहेको बताए । कोरोना पोजेटिभ देखिएपछि पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य परीक्षण गरेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
“जनताको सेवामा दिनरात नभनि खटिँदै गर्दा मेरो पनि कोरोना पोजेटिभ आयो, मेरो सम्पर्कमा रहनुभएका व्यक्तिहरु सुरक्षित होम क्वारेन्टिनमा बस्नुहोला,म छिट्टै कोरोनालाई जितेर फेरी जनताको सेवामा खटिनेछु”, उनले भने ।
गत साउन ३२ गते र भदौ २ गते गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षणको लागि स्वाव सङ्कलन गरिएको थियो ।
प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणको क्रममा गाउँपालिका अध्यक्ष गुप्तालाई कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कँहारले जानकारी दिए ।
गाउँपालिका अध्यक्षसहित कार्यालयमा कार्यरत अन्य चार जना कर्मचारी तथा पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र र हरपुर स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण देखिएपछि आजदेखि दश दिनका लागि गाउँपालिका कार्यालय शील गरिएको छ ।
गाउँपालिका कार्यालय र छ वटै वडा कार्यालय शील गरिएको तर स्वास्थ्य चौकीहरू सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत कँहारले बताए ।
पाल्हीनन्दन गाउँपालिकामा आज मात्रै २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलका अनुसार उक्त गाउँपालिका ३ का मात्रै १९ जनामा एकैदिन सङ्क्रमण पुष्टि भएको हो । यसैगरी अन्य ४, ५ र ६ नम्बर वडाका रहेका छन् ।
योसँगै पश्चिम नवलपरासीमा आज मात्रै ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पृथ्वीचद्र अस्पताल परासीमा कार्यरत चार जना चिकित्सक र एक नर्समा पनि सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा बन्द गरिएको छ ।
जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १७८ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पोखरेलले जानकारी दिए । समुदायमा कोरोना फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले थप चार दिन निषेधाज्ञा लम्बाएको छ । यसअघि भदौ ६ गते राती १२ बजेसम्मका लागि एक साता निषेधाज्ञा जारी गरिएको थियो ।
















प्रतिक्रिया