२८ आश्विन २०८३, बुधबार

लकडाउन खुला गरिएको होइन, लचकता अपनाइएको हो : उपप्रधानमन्त्री पोखरेल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले हाल लकडाउन खुला गरिएको नभई सरकारले लचकता अपनाएको बताएका छन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक पोखरेलले कसैले बोल्दा र भन्दा मात्रै लकडाउन खुलेको बताएका हुन् ।

शैक्षिक संस्थाहरु नखुलेको, सभासम्मेलनहरुलाई अझै बन्देज गरिएको, चलचित्र हलहरु नखुलाइएको, ब्युटीपार्लर, सैलुन तथा स्पा सञ्चालन नगरिएकोलगायत अवस्थामा लकडाउन पूर्ण रुपमा खुला नभएको उनको भनाइ छ ।

त्यस्तै अन्तर जिल्ला सार्वजनिक यातायात, हवाई उडानलगायत सेवा बन्द रहेको बताउँदै पोखरेलले निश्चित पोर्टोकललाई अवलम्बन गरेर सार्वजनिक यातायातहरु जिल्लाभित्र मात्रै चलाउन मिल्ने गरी खुला गरिएको बताएका छन् ।

अहिले पनि कोरोना संक्रमण तीव्र भइरहेको क्षेत्र तत्काल शील गर्ने गरिएको उनले बताए ।

कोरोना संक्रमणको वर्तमान अवस्थामा सुधार हुँदै गए मात्रै भदौ १ गतेदेखि खुला गर्ने भनिएका अन्तरजिल्ला सवारी, हवाई उडान, विद्यालय र अन्य क्षेत्रहरु खोल्न सकिने उनको भनाइ छ । अन्यथा संक्रमणले तीव्रता लिएको खण्डमा ति क्षेत्रहरु बन्द नै रहने उनले बताएका छन् ।

‘कोरोनाको अवस्था यही र यो भन्दा कम हुँदै गए मात्र भदौ १ गतेदेखि हवाई उडान, लामो दूरीका बससेवा र अन्य क्षेत्रहरु खुला गर्न सक्छौं भनेर सरकारले प्रारम्भिक मानसिकता तयार गरेको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमण दर बढ्यो भने उक्त दिनबाट हामी ति क्षेत्र सञ्चालन गर्न सक्दैनौं ।’