
दोलखा, ६ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७ स्थित साखिनेमा पहिरोका कारण ३ घरपरिवार विस्थापित भएका छन् ।
लगातारको वर्षाका कारण घर माथिबाट पहिरो खस्न थालेपछि यहाँको नेवारटोलका रत्नबहादुर, प्रेमबहादुर र जयबहादुर श्रेष्ठको परिवार विस्थापित भएका हुन् ।
भीनपा–७ का अध्यक्ष कैलाशककुमार श्रेष्ठका अनुसार उक्त ३ घरपरिवारलाई सोमबार नै सुरक्षित स्थान (छिमेकीको घर)मा सारिएको हो ।
नेवार टोलका १५ घरमध्ये ३ घरलाई सारिए पनि अन्य घरसमेत जोखिममुक्त नरहेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस्तै दोलखाकै बिगु गाउँपालिका–२ वराङस्थित ताइबा गाउँका ६५ वर्षीय रामजी विक र उनकी श्रीमतीलाई खोलाले बगाएको छ । असार २९ गते गाउँकै च्याटु खोलाले बगाएको उनीहरू अहिलेसम्म बेपत्ता छन् ।
खेतमा जान हिँडेका उनीहरूलाई च्याटु खोलाले बगाएको हुनसक्ने भनेर प्रहरीले त्यसयता निरन्तर खोजीकार्य जारी राखेको भए पनि अझै भेट्टाउन सकेको छैन ।
जिल्लाको भीमेश्वर नगरपालिकासहित तामाकोशी, बिगु, गौरीशंकरलगायत गाउँपालिकाहरू बाढी तथा पहिरोको उच्च जोखिममा परेका छन् ।













प्रतिक्रिया