२८ आश्विन २०८३, बुधबार

पर्साको सीता गुफा क्षेत्रमा जानबाट सर्वसाधारणलाई रोकियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ४ साउन । पर्साको ठोरीस्थित सीता गुफा क्षेत्रमा सर्वसाधारणलाई रोक लगाइएको छ ।

शनिबार अज्ञात रुपमा उखेलिएको सीमा स्तम्भ पुनः गाडिएको भए पनि सुरक्षा अवस्थालाई दृष्टिगत गरी गुफा क्षेत्रभित्र सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

निषेध गरिएसँगै गुफा क्षेत्रको अवलोकनका लागि आएका थुप्रै सर्वसाधारण त्यस क्षेत्र जानबाट वञ्चित भएका छन् । आइतबादेखि केही दिनका लागि उक्त क्षेत्रमा सर्वसाधारणलाई जान रोकिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।

यद्यपि, सञ्चारकर्मी र विशिष्ट व्यक्तिहरूलाई भने प्रवेश खुला छ । तर, उनीहरूको अवलोकत तथा भ्रमणलाई सुरक्षा निकायले नजिकबाटै निगरानी राख्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार भानु जयन्तीका अवसरमा रामको जन्मभूमि नेपालकै ठोरीमा भएको अभिव्यक्ति दिएसँगै सीता गुफाको चर्चा बढेको थियो भने अवलोकनकर्ताहरूको भीड लाग्न थालेको थियो ।

प्रधानमन्त्रीको अभिव्यत्तिसँगै चर्चामा आएको उक्त क्षेत्रमा रहेको नेपाल–भारत सीमा स्तम्भ शनिबार अकस्मात उखेलिएको थियो । तर, नेपाल र भारतका सुरक्षाकर्मीहरूको पहलमा सोही ठाउँमा शनिबार राती नै उक्त सीमा स्तम्भ पुनः गाडिएको भए पनि सर्वसाधारणलाई जान भने नदिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

सीमा स्तम्भ सोही ठाउँमा गाडिए पनि कसले र किन उखेल्यो भन्ने विषय अझै अज्ञात छ । अवलोकनकर्ताको भीड बढिरहेकै बेला अकस्मात स्तम्भ उखेलिनुलाई रहस्यमय ढंगले हेरिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले ठोरीलाई धार्मिक रूपमा पहिचान दिलाइ प्रचारप्रसार हुन थालेकोमा पर्सावासी खुशी भए पनि सीमा स्तम्भ उखेलिएको घटनाले भने उनीहरूलाई दुःखीत बनाएको छ ।