२८ आश्विन २०८३, बुधबार

डडेल्धुराका स्थानीय तहहरूको बेरुजु १८ करोड भन्दा बढी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ३ साउन । महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदन अनुसार डडेल्धुराका स्थानीय तहहरूको बेरुजु १८ करोड रुपैयाँ भन्दा माथि रहेको छ ।

७ वटै स्थानीय तहहरूको बेरुजु १८ करोड २७ लाख ८ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये भागेश्वर गाउँपालिकाको मात्रै ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु छ ।

भागेश्वर गाउँपालिकाको ६२ करोड ७ लाख ३५ हजार रुपैयाँको लेखारीक्षण रकममध्ये उक्त रकम बेरुजु देखिएको हो । गाउँपालिकाको कुल लेखापरीक्षण रकमको ८ दशमलव ७८ प्रतिशत रकम बेरुजु छ । डडेल्धुराका ७ वटै स्थानीय तहहरूमध्ये भागेश्वर गाउपालिकाको सवैभन्दा बढी बेरुजु रहेको छ भने सबै भन्दा कम अमरगढी नगरपालिकाको छ ।

अमरगढी नगरपालिकाको ० दशमलव ७१ प्रतिशत रकम बेरुजु रहेको छ । लेखापरीक्षण गरिएको कुल रकम ६९ करोड ८५ लाख ७९ हजार रुपैयाँमध्ये ४९ लाख ८८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

यस्तै आलिताल गाउँपालिकाको ७० करोड ६० लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ४ करोड ३४ लाख ७९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो कुल बेरुजुको ६ दशमलव १६ प्रतिशत हो ।

यस्तै परशुराम नगरपालिकाको ३ करोड ७० लाख ९९ हजार रुपैयाँ बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारको ३ दशमलव १९ प्रतिशत बेरुजु देखिएको हो ।

नवदुर्गा गाउँपालिकाको कुल लेखापरीक्षण रकम ७३ करोड ४८ लाख ४६ हजार रुपैयाँको २ दशमलव ४९ प्रतिशत रकम बेरुजु रहेको छ । नवदुर्गाको बेरुजु रकम १ करोड ८२ लखा ९७ हजार रहेको छ ।

अजयमेरु गाउँपालिकाको १ करोड ४९ लाख २५ हजार रुपैयाँ बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकम ७२ करोड ५९ लाख १४ हजार रुपैयाँ अर्थात २ दशमलव ०६ प्रतिशत बेरुजु छ ।

यसैगरी गन्यापधुरा गाउँपालिकाको ९४ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकम ५३ करोड ६६ लाख४ हजार रुपैयाँको १ दशमलव ७५ प्रतिशत बेरुजु देखिएको हो ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गर्दा भागेश्वर गाउँपालिकाको बेरुजु बढी देखिएको भागेश्वर गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले बताएका छन् । डोलीडार सडक विभाग र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको नम्स नमिलेकाले बेरुजु बढी देखिएको उनको भनाइ छ ।