
काठमाडौं, २ साउन । ठगी तथा बैंकिङ कसुरका एक अभियुक्त बिहीबार साँझ पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले दमक नगरपालिका–७ झापाका २९ वर्षीय चन्दन जिन्दललाई बिहीबार भक्तपुरबाट पक्राउ गरेको हो । झापा, बारा, पर्सा, सर्लाहीका विभिन्न व्यक्तिलाई ठगी गरी जिन्दल फरार थिए ।
जिन्दलविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगञ्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
अभियुक्त जिन्दलले आफूलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको प्रहरीले बताएको छ । उनले विभिन्न २२ जना व्यक्ति बाट ७ करोड ८१ लाख ४२ हजार रूपैयाँमा ठगी तथा बैंकिङ कसुर गरेको प्रहरीको भनाइ छ ।
उनले बारा तथा पर्साका विभिन्न खाद्यान्न व्यापारीहरूलाई विश्वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरूलाई खरीद मूल्य भन्दा पनि सस्तोमा दरमा विक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यस्तै झापामा जमीन र हार्डवेयर व्यवसायमा पनि ठगी गरेको खुलेको छ ।
पक्राउ परेका जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।













प्रतिक्रिया