२८ आश्विन २०८३, बुधबार

आजदेखि साझाले चलायो ८ रुटमा २६ वटा बस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । लामो समयको लकडाउनपछि साझा यातायातले आज बिहीबारदेखि ८ वटा रुटमा २६ वटा बस सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै बस सञ्चालन गरिएको साझा यातायातले जानकारी दिएको छ ।

साझाले साविकको सबै रुटमा आजदेखि बस सञ्चालन गरेको हो । थानकोट, सूर्यविनायक, लगनखेलबाट, लामाटार, गोदावरी र बालाजुलगायत रुटमा साझाले आफ्नो सेवा पुनः सुचारु गरेको हो । यात्रुको चापका आधारमा बसको संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ ।

साविकको भाडा दरमा सरकारले तोकेको ५० प्रतिशत मात्रै थप गरेर भाडा लिइने साझा यातायात कार्यालयका लेखाप्रमुख सुनील महर्जनले जानकारी दिए । सरकारले काठमाडौं उपत्यका र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्रका लागि मात्रै सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको छ ।

तर, ५० प्रतिशत मात्रै भाडा वृद्धि गरेर तोकिएको मापदण्डअनुसार बस सञ्चालन गर्न नसक्ने भन्दै अधिकांश बस व्यवसायीले सवारीसाधन ग्यारेजबाट निकालेका छैनन् । यद्यपि, पछिल्लो तीन दिनयता केही बस व्यवसायीहरूले सीमित मात्रामा आफ्नो बस तथा माइक्रोहरू सञ्चालन गर्न थालेका छन् ।

खासगरी बसका मालिकहरूले बस चलाउन नसक्ने बताए पनि चालक तथा सहचालकले आफ्नो दैनिक रोजीरोटीकै लागि भए पनि बस चलाउन थालेको बसचालकहरूले बताएका छन् ।