७ मंसिर २०८३, सोमबार

अप्ठ्यारोमा नेकपा : प्रधानमन्त्री ओली–अध्यक्ष प्रचण्डबीच हुने वार्ताले समाधान निस्किएला ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । फुटकै अवस्थामा पुगिसकेको नेपाल कम्युनिस्ट पार्टीलाई दुर्घटनाबाट जोगाउने अन्तिम कसरतअनुसार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बालुवाटारमा वार्ता हुने भएको छ ।

शनिबार दुवैबीच छलफल हुन नसकेपछि स्थायी समिति बैठक चल्नुअघि सहमति खोज्नका लागि प्रचण्ड बालुवाटार पुग्नेछन् । लगभग दुर्घटनाको अवस्थामा पुगेको नेकपामा ओली एकातिर र प्रचण्डलगायत अन्य नेता अर्कातिर लागेका छन् ।

ओलीले तत्काल सरकार र नेकपा अध्यक्षको पद पनि नछाड्ने अडान कायम राखेपछि प्रचण्डलगायत, माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सदस्यले राजीनामा गराउन दबाब दिने निर्णयनजिक पुगेपछि नेकपामा अर्को प्रलयको अवस्था देखिएको थियो ।

तत्काल संसदको अधिवेशन अन्त्यको सिफारिससँगै नेकपाको आन्तरिक राजनीतिक समस्याले नयाँ मोड लिएको थियो । शनिबार साँझ मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले साइड लिने अवस्थाका बारेमा पनि बुझेका थिए ।

आइतबार प्रचण्डसँगको वार्तामा समाधानका कुनै खास विकल्पमा सहमति हुन सकेन भने लगभग नेकपा विभाजनतिर जाने निश्चित छ । स्थायी समिति बैठकले कुनै न कुनै निर्णय गरेर मात्र टुंगो लगाउने निधो भइसकेको छ ।