२८ आश्विन २०८३, बुधबार

योगेशको प्रश्न- ‘केपीपछि वामदेव, ईश्वर, विद्या अध्यक्ष हुने, हामीचाँही गोठालो हुने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-Bhattarai

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता योगेश भट्टराईले पार्टीमा जनमतलाई कब्जा गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एमाले कार्यकर्ताको पूर्वाञ्चल भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले पार्टीलाई सिन्डीकेट प्रणालीमा लैजान खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

‘नेतृत्व पालैपालो लिने नाममा केही नेताहरुले पार्टीमा एकछत्र शासन गर्न खोज्दैछन्, उनीहरुले पालैपालो पार्टी चलाउँदा हाम्राचाँहि नातिपुस्तासम्म रमिते बन्नुपर्ने ?’, नेता भट्टराईले भने, ‘केपी आली, विद्या भण्डारी र वामदेव गौतमले पालैपालो पार्टी हाँक्दा हामीचाँही गोठाला हुने ?’

ओली समूहका नेताहरु विचारलाई लत्याउँदै शीर्ष नेताहरुलाई अपमानित गर्न उद्यत भएको उनले बताए ।

‘पार्टीको एउटा समूह नवौं महाधिवेशनबाट नेतृत्व लिने नाममा शत्रुलाई पनि नगर्ने गालीगलौजमा उत्रेका छन्,’ नेता भट्टराईले भने, ‘विचार र समूह फरक भयो भन्दैमा कुनै पनि शीर्ष नेतालाई अपमानित गर्नुहुँदैन ।’

पार्टीलाई बैचारिक र सांगठानिक हिसावले नयाँ उचाइँमा पुर्‍याउन माधवकुमार नेपाललाई अन्तिम पटकका लागि अध्यक्षमा उठाउन लागेको बताउँदै नेता भट्टराईले ओली समूहका केही नेताले फरक विचार राख्ने नेता कार्यकर्तालाई अपमानित गरेको दाबी गरे ।

उनले ओली समूहका नेतालाई भने,‘नवौं महाधिवेशनबाट विचारले जितेर अध्यक्ष हुन हामी चुनौति दिन्छौं, अशोभनीय गाली गरेर होइन । ‘साथीहरु शत्रुलाई पनि भन्न नमिल्ने शब्द प्रयोग नगर्नुस् । महाधिवेशनसम्म अलग अलग कार्यक्रम होला, तर असार २५ गतेदेखि हामी फेरि एउटै एमाले भएर हिँड्नुपर्छ ।’

‘लोकमानसिंहलाई बोकेर हिँड्ने कोही पनि हाम्रो समूहमा छैनन्, भ्रष्ट न्यायाधीशलाई सर्वोच्चमा पुर्‍याउने काममा पनि हाम्रो सहभागिता छैन ।,’ नेता भट्टराईले ओली समूहलाई व्यंग गर्दै भने,’ दुब्ला पातलाको समूह हामीसँग भएकाले हामी तगडा छौं, मोटाहरुको अर्को समूहले पार्टी चलाउन सक्दैनन् ।’

भट्टराईले महाधिवेशनमा आफ्नो पक्षमा पार्न ओली समूहका मन्त्रीहरुले कार्यकर्तालाई दबाबमा पार्न थालेको आरोप लगाए । ‘साथीहरु सिंहदरवारमा गएर मन्त्रीज्यू मेरो सरुवा गर्नुथियो भन्नुहुन्छ, मन्त्रीज्यूले के केपी ओलीलाई भोट दिने हो भनेर खुलमखुला भन्नुहुन्छ,’ उनको भनाइ थियो, ‘यहाँ जनमतलाई कब्जा गर्न खोजिँदैछ ।’