इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आइतबार नयाँ दिल्लीमा नरेन्द्र मोदीको भारतीय प्रधानमन्त्री पदमा सपथग्रहण कार्यक्रममा सरिक हुन आफ्नो ऐतिहासिक भ्रमणअगाडि १५१ भारतीय माझीलाई रिहा गर्न आदेश दिनुभएको छ ।
भारतीय बन्दीलाई रिहा गर्ने इस्लामाबादको निर्णयलाई भारतले मोदीको सपथग्रहण अगाडि कूटनीतिक सङ्केतको रूपमा स्वागत गरेको छ । यसरी मुक्त हुनेमा पाकिस्तानी जलक्षेत्र उल्लङ्घन गर्ने माझी प्रायः रहेको बताइएको छ ।
पाकिस्तानी प्रधानमन्त्री सरिफलाई उक्त समारोहमा सहभागी हुन मोदीले दिनुभएको निमन्त्रणालाई बलियो कूटनीतिक पाइलाको रूपमा हेरिएको छ । उहाँ दुई पारमाणविक हतियारसम्पन्न मुलुकबीच बिग्रिएको सम्बन्ध सुधार्न चाहनुहुन्छ ।
भारतीय प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्रीको उपस्थिति दक्षिण एसियाली छिमेकीहरूका लागि नौलो हो । यी दुई मुलुक सन् १९४७ मा स्वतन्त्र भएपछि तीनपटक युद्धमा गएका छन् । उनीहरूबीच कश्मीर तथा अन्य विवादमा तीतो मतभेद छ ।
पाकिस्तान सरकारका एक वरिष्ठ अधिकारीले प्रधानमन्त्रीले पाकिस्तानी कारागारमा रहेका १५१ बन्दी र उनीहरूका ५७ डुङ्गा सोमबार मुक्त गरिदिन निर्देशन दिनुभएको बताए ।
यी अधिकारीले यी दुई मुलुकले बन्दी बनाएको विषयलाई पाकिस्तानले मानवीय रूपमा हेरेको बताए ।
भारतीय विदेश मन्त्रालयले पाकिस्तानले नयाँ दिल्लीलाई सपथग्रहणको समयमा सदभावना सङ्केतको रूपमा यी बन्दीहरूलाई मुक्त गर्ने अभिप्रायको सूचना दिएको जानकारी दिएको छ ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता सयद अक्बरुद्दिनले सीएनएन–आईबीएन टेलिभिजन नेटवर्कलाई केही समय हिरासतमा रहेका आफ्ना बन्दीहरूलाई स्वागत गर्नुपाउनु सँधै राम्रो कुरा भएको बताउनुभयो ।
यसैगरी श्रीलङ्काले आफ्नो जलक्षेत्रमा माछा मारेको भनी पक्राउ गरेका पाँच भारतीय नागरिकलाई मुक्त गर्ने भनी गरेको निर्णयको पनि प्रवक्ता अक्बरुद्दिनले स्वागत गर्नुभयो ।
श्रीलङ्काली राष्ट्रपति महिन्दा राजपक्षेले यी व्यक्तिलाई नयाँ दिल्लीमा समारोहमा भाग लिन भ्रमण गर्नुपूर्व रिहा गरिदिन आदेश दिनुभएको उहाँको कार्यालयले जानकारी दिएको छ ।
मोदीले पाकिस्तानी प्रधानमन्त्री सरिफ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य मुलुकका सरकार प्रमुखहरूलाई सोमबार आफ्नो सपथग्रहण कार्यक्रममा आमन्त्रण गर्नुभएको छ । रासस / एएफपी














प्रतिक्रिया