राजेन्द्र श्रेष्ठ
काठमाडौं । काठमाडौंका प्रमुख एसएसपी रमेश खरेलले शनिवार सार्वजनिक रुपमा दिएको अभिब्यक्ति सम्बन्धमा छानविन गर्न उच्चस्तरीय समिति गठन भएको छ ।
डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।
एसएसपी खरेलले शनिवार एक कार्यक्रममा केही डीआइजीहरु पैसाको बिफ्रकेश बोकेर एआइजीमा बढुवा हुनका लागि नेता र मन्त्रीको घरमा धाइरहेको बताएका थिए ।
‘छिट्टै एआइजी बढुवा हुँदैछ,’ कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई इंगित गर्दे उनले भनेका थिए, ‘कतिपय डिआइजी पैसावाल छन्, ब्रिफकेश बोकेर मन्त्री र नेताको घरघर गइरहेका छन् । नेता र मन्त्रीका घरघर जाने डिआइजी तपाईँले चिन्नुभएको छ, त्यस्तालाई प्रमोशन दिनु हुन्न, त्यहीँबाट भष्ट्राचारविरुद्ध अभियान सुरु गर्नोस्।’
यसअघि पनि उनले निरन्तर यस्तै विवादस्पद बयान दिएको भन्दै हेडक्वार्टरले आइतबार छानविन समिति गठन गरेको हो । समितिले खरेलसँग स्पष्टीकरण लिने लगायतका अधिकार पाएको स्रोतले जनाएको छ ।
खरेलले बोलेका विषयमा छानविन गर्न समिति बनाएको विषयमा प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्यालले संयोजक शर्मालाई जानकारी गराएका थिए । ‘मेरो संयोजकत्वमा समिति बनाएको जानकारी मौखिक रुपमा पाए, शर्माले भने ‘ पत्र आइसकेको छैन पत्र आएपछि के अधिकार दिइएको छ छानविनको दायरा के ? भन्न सकिएला ।’














प्रतिक्रिया