महेन्द्रनगर, २७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारको वार्ताले सार्थक नपाउने दाबी गरेका छन् ।
कार्यकर्ता भेटघाटका सिलसिलामा सुदूरपश्चिम पुगेका नेता देउवाले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चालाई सहमतिमा प्रधानमन्त्री सुशील कोइराला लागिपरेपनि सरकारको वार्ताले सार्थकता नपाउने दावी गरेका हुन् ।
‘विपक्षीलाई सहमतिमा ल्याउन सरकारसंग ज्ञानको कमी छ, वार्ता सार्थक हुन्छ भन्ने मलाई लाग्दैन् ।’ प्रेस युनियन कञ्चनपुर शाखाले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले भने ।
उनले केही दिनयता राजनीतिक दलबीच सहमतिको वातावरण बनिरहेकाले जेठ १५ मै नयाँ संविधान जारी गरिने बताए । ‘सरकार र ३० दलीय मोर्चाबीच वार्ता चलिरहेको छ, वार्तामा म पनि सहभागी हुँदैछु,’ उनले भने, ‘मैले भनेको प्रचण्डजीले मान्नुहुन्छ, वार्तामा आउनुहुन्छ, जसरी भएपनि सहमतिमा ल्याएरै संविधान बनाउँछौंं ।’
आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन सहमतिकै संविधान जारी गरिने नेता देउवाको भनाई छ ।
“केही दिनयता सत्तापक्ष र विपक्षबीच सकारात्मक छलफल हुँदै गएको छ ।” उनले भने, “दलहरुबीच सहमति हुन सके गणतन्त्र दिवसको दिन संविधान जारी गर्न सकिन्छ ।”
सहमतिका लागि अन्तिम समयसम्म वार्ता गरिने भन्दै विपक्षीहरु नआए प्रक्रियाबाट भए पनि संविधान जारी गरिने उनको कथन छ ।
















प्रतिक्रिया