१२ कार्तिक २०८३, बिहिबार

भयमुक्त पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग कांग्रेसकाे माग

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ वैशाख नेपाली कांग्रेसले भयमुक्त र पक्षपातरहित पत्रकारिता गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र सञ्चार संस्थाले काम गर्न पाउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका हुन् ।

यसका लागि विपक्षी दलका नाताले कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ । सरकार र सरकारको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन पनि उनले अपील गरेका छन् ।

प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा कसैले पनि नकारात्मक दृष्टि राख्न नहुने भन्दै सभापति देउवाले प्रश्न गरेका छन्- प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?

कांग्रेसले कोभिड-१९ को महामारीले सञ्चारमाध्यमको विज्ञापनदेखि ढुवानीसम्ममा असर परेको तथा कैयौं पत्रकार बेतलबी रहने अवस्था आएकाले यो चुनौती कम गर्न पत्रकार र सञ्चारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न सरकारसंग आग्रह गरेको छ ।

महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको र यसका केही संकेत सरकारका अभिव्यक्ति र व्यवहारमा देखिएको भन्दै कांग्रेसले लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने कामविरुद्ध प्रखर रुपले उभिने पनि जनाएको छ ।