धादिङ, ५ वैशाख । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकाेटघाटस्थित खोलाको बगरमा एक युवाको शव फेला परेको छ ।
मृतक ज्वालामुखी– ५ बाजगराका ३८ वर्षीय होमबहादुर रानामगर रहेको वडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।
रोजगारीको सिलसिलामा चितवनमा रहेका मगर पृथ्वी राजमार्गको बेनीघाटबाट फुजेल हुँदै पैदल राति नौ बजेतिर पुलमा पुगेको बताइएको छ । मृतक मगरका परिवारका सदस्यले बताएअनुसार उनले पुलमा डर लाग्ने भन्दै आफूलाई लिन आउन भनेका थिए ।
लकडाउनमा पनि मानिसको ओहोर–दोहोर नरोकिएपछि पुलमा बार लगाइएको छ । रातको समयमा पुलमा लगाइएको बार पार गर्ने क्रममा उनको पुलबाट खसेर मृत्यु भएको हुन सक्ने वडाध्यक्ष काप्रीको भनाइ छ ।
शव पोष्टमार्टमका लागि सदरमुकाम धादिङबेंसीस्थित जिल्ला अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । मृतकका आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् ।














प्रतिक्रिया