लुम्बिनी, २४ फागुन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी जेठ १५ भित्रै सहमतीय संविधान जारी हुने बताउनुभएको छ ।
उहाँले सबै दलको सहमतिमा जेठ १५भित्रै जनताले चाहेको जस्तो संविधान जारी हुने बताउनुभएको हो ।
नेपाल प्रेस युनियन रुपन्देहीले भैरहवामा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले जेठ १५ भित्रै सहमतीय आधारमा संविधान जारी गरिसकिने उल्लेख गर्नुभयो ।
एकीकृत नेकपा माओवादी र मधेसवादी दलको बहकाउले माघ ८ मा संविधान जारी हुन नसकेको उल्लेख गर्दै उपसभापति पौडेलले दलहरुबीचको वार्ता सकारात्मक भइरहेकाले सहमतिबाटै संविधान आउनेमा आश्वस्थ हुन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले लोकतन्त्रलाई संस्थागत गर्दै सङ्क्रमणकालको अन्त्य गरिनुपर्ने उल्लेख गर्नुभयो । नेपालमा जातीय राज्य हुन नसक्ने बताउँदै उपसभापति पौडेलले जातीय राज्यको नाममा आमजनतालाई अतिरञ्जित नबनाउन सबैसँग आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सञ्चालित ‘गणेशमान बलिदानी अभियान’ को समापनका लागि उपसभापति पौडेल भैरहवा पुग्नुभएको हो ।















प्रतिक्रिया