धादिङ, १७ फागुन । धादिङ जिल्लाकाे बेनिघाट रोराङ ५ चरौंदी पुलमा शुक्रबार सवारी साधनहरू आपसमा जुध्दा बाँसबारीस्थित गंगालाल हृदयरोग प्रतिष्ठानका २ जना चिकित्सकसहित ६ जना घाइते भएका छन् ।
स्याङ्जामा आयोजित निःशुल्क मुटुरोग शिविरका लागि बा १ प ८९२ नम्बरको पर्यटक बोक्ने माईक्रोबसमा प्रतिष्ठानका १० जनाको टोली सवार थिए ।
जन्ती बोकेर काठमाडौंबाट स्याङजातर्फ जाँदै गरेको बा ८ ख ९४९२ नम्बरको जन्ती बोकेको डिलक्स बस अनियन्त्रित हुँदा डाक्टरहरु बोकेको बा १ प ८९२ नम्बरको पर्यटक बोक्ने माइक्रो र बा १ घ ६३० नम्बरको ट्रकसँग चरौंदी पुलमा आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये प्रतिष्ठानका डाक्टर जगन्नथ पोखरेल, डाक्टर विश्व पोखरेल र स्टाफ नर्स ललिता महर्जनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको गजुरी स्थित प्रहरीले जनाएको छ ।
डाक्टरहरू चढेको माइक्रोका चालक काठमाडौं नक्साले ५६ वर्षीय शंकर कपाजीलाई पनि थप उपचारका लागि काठमाडौं पठाइएको छ भने ४ जनालाई मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा सामान्य उपचारपछि फकाईएको गजुरीस्थित जिल्ला ट्राफिक कार्यालय इन्चार्ज नेत्रप्रसाद भट्टले बताए ।
प्रत्यक्षदर्शी शिक्षक तिलक चेपाङका अनुसार दुवै तर्फका सवारी साधनहरु पुलमा कोचाकोच हुँदा दुर्घटना भएको हो । तीनवटै सवारीका चालकलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।














प्रतिक्रिया