११ कार्तिक २०८३, बुधबार

संविधान जारी गर्ने नयाँ मिति तय गर्न शीर्षनेता सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-kp-prachanda-bijaya-

काठमाडौँ, २२ फागुन । संविधान जारी गर्ने नयाँ मिति घोषणा गर्न प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सहमत भएका छन् ।

गत माघ ८ गते विवादका कारण संविधान घोषणा गर्न असफल भएका नेताहरु पुनः नयाँ मिति तय गरेर अगाडि बढ्न तयार देखिएका हुन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निवास मालीगाउँमा शुक्रबार साँझ आयोजना गरिएको रात्रिभोजमा प्रमुख राजनीतिक दलबीच विश्वासको वातावरण बनाउने र वार्तालाई सार्थक निष्कर्षमा पुर्‍याएर संविधान जारी गर्ने उपयुक्त मिति घोषणा गर्नका लागि मिलेर अगाडि बढ्न सहमत भएको बताइएको छ ।

संविधानसभाको निर्वाचनका क्रममा एक वर्षभित्र मुलुकलाई संविधान दिने प्रतिबद्धता जनाएर कार्यतालिकासमेत बनाएका नेताहरुकै बीचमा मतैक्य नहुँदा निर्धारित समय माघ ८ टरेको थियो ।

थापा निवासमा भएको छलफलमा संविधान जारी गर्नका लागि नयाँ मिति तोकेर अगाडि बढ्ने प्रतिबद्धता नेताहरुले जनाएका छन् । रात्रिभोजका रुपमा आयोजना गरिएको छलफलमा भएका कुराकानीबारे जानकारी दिँदै पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो–‘‘सबै दलबीच छलफलका आधारमा एकताबद्ध भई संविधान जारी गर्ने नयाँ मिति तोक्ने र सो मितिमा संविधान लेखन प्रक्रियालाई पूर्णता दिन सहमत भयौँ ।’’

मुलुकलाई लामो समयसम्म अनिश्चिततामा राख्न नहुने भन्दै उहाँले फेरि भन्नुभयो–‘‘सबै राजनीतिक दलले सहमतिका आधारमा एकै स्वरमा मुलुक, जनता र अन्तर्राष्ट्रिय समुदायलाई संविधान दिन्छौ भन्नेमा आश्वस्त बनाउनुप¥यो ।’’

छलफलमा प्रधानमन्त्री कोइरालाले शनिबारबाटै दलहरुबीच संवादको प्रक्रिया सुरु गरिने जानकारी गराउनुभएको राप्रपाका नेतासमेत रहनुभएका पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो–‘‘ एमाओवादी अध्यक्ष दाहालले पनि नयाँ मिति तोकेर अगाडि बढ्नुपर्छ भन्नेमा सहमत हुनुभएको छ ।’’

पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो–‘‘शीर्षनेताहरु गम्भीर हुनुहुन्छ, अब राजनीतिक सहमतिका आधारमा अगाडि बढ्छ र मुलुकले निकास पाउँछ ।’’

राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले राजनीतिक दलका शीर्षनेताको जमघट अनौपचारिक रहेको बताउँदै वार्ताका लागि न्यानो वातावरण बनाउन आजको भेट सार्थक रहेको उल्लेख गर्नु भयो । मिलेर जाने र मुलुकलाई निकास दिने विषयमा शीर्षनेता सहमत हुनुभएको आफूले पाएको जानकारी दिँदै अध्यक्ष राणाले भन्नुभयो–‘‘शनिबार हुने प्रमुख दलबीचको वार्ताबाट निष्कर्ष निस्कन्छ ।’’

सो रात्रिभोजमा प्रधानमन्त्री कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राणा र नेताहरु सहभागी हुनुहुन्थ्यो ।

यस्तै एमाले नेता माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनालीलगायतका नेताहरुको सहभागिता रहेको थियो । रासस