पाकिस्तान, १९ फागुन । पाकिस्तानको उत्तरपश्चिमी भागमा आफ्ना बालबालिकालाई पोलियोविरुद्ध खोप दिन अस्वीकार गर्ने ४५० भन्दा बढी आमाबाबुलाई प्रहरीले पक्राउ गरेको जानकारी अधिकारीहरूले सोमबार दिएका छन् ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रमुख नगर पेसावरमा उपआयुक्त रियाज खान मेहसुदले आफ्ना बालबालिकालाई पोलियोविरुद्ध खोप दिन अस्वीकार गर्ने ४७१ आमाबाबुलाई हिरासतमा लिइएको तथा कारागारमा पठाइएको जानकारी दिनुभयो ।
विश्वमा पोलियो रोग सङ्क्रमण भएका तीन मुलुकमा पाकिस्तान पनि परेको छ । यहाँका आमाबाबुले आफ्ना बालबालिकलाई यस्तो खोप दिन अस्वीकार गरेपछि यस मुलुकमा यो रोग निर्मूल गर्ने प्रयास नराम्रोसँग प्रभावित भएको छ । खोप दिने कामलाई लडाकूहरूले विरोध गरेका छन् र उनीहरूले खोप दिन आउने समूहमाथि आक्रमण गर्ने गरेका छन् ।
पोलियोका विषाणु मुलुकको तनावग्रस्त उत्तरपश्चिमी भागमा देखा परेको छ र खैबर पख्तुनख्वाका २७ लाख बालबालिकालाई खोप दिन यहाँ सोमबार नयाँ अभियान सञ्चालन भएको छ ।
सरकारले गत वर्ष यस रोगविरुद्ध युद्ध घोषणा गरेको छ र मसुदले आफ्ना बालबालिकालाई खोप दिन अस्वीकार गर्ने आमाबाबुलाई सहन नसकिने बताउनुभयो ।
मेहसुदले यस विषयमा दया नदेखाइने र खोप दिन अस्वीकार गर्ने व्यक्तिलाई कडा कारवाही गरिने बताउनुभयो । उहाँले खोप लिन अस्वीकार गर्ने व्यक्तिलाई कारागार पठाइने बताउनुभयो ।
सोमबार प्रहरीले पेसावरको बाहिरी भागका आमाबाबुलाई पक्राउ गरेको हो । उक्त क्षेत्रमा लडाकू समूहले नियमित रूपमा प्रहरी तथा पोलियोविरुद्ध खोप दिने स्वास्थ्य कार्यकर्तामाथि आक्रमण गरिरहेको देखिन्छ । यहाँ पोलियोविरुद्धको खोपको विरोध बलियो रूपमा हुने गरेको छ ।
मेहसुदले अधिकारीहरूले खोप दिन अस्वीकार गर्ने व्यक्तिलाई पक्राउ गर्न करिब एक हजार यस्तो पक्राउ आदेश दिइएको र यसका कारण अस्वीकार गर्ने व्यक्तिमाथि छिटै कारवाही गर्न सकिएको बताउनुभयो ।
अर्का वरिष्ठ अधिकारी मुहमद मुमताजले यसरी बालबालिकाका आमाबाबुलाई पक्राउ गरिएको पुष्टि गर्दै उनीहरूले आफ्ना बालबालिकालाई खोप दिने आश्वासन दिएपछि र त्यसको दुई व्यक्तिले प्रत्याभूति दिएपछि मात्र छोडिने जानकारी दिनुभयो ।
तालिवानले मुसलमानलाई बच्चा जन्माउन नसक्ने बनाउने षडयन्त्रको रूपमा पोलियाविरुद्ध खोपलाई लिएका छन् । सीआईएले एक पाकिस्तानी चिकित्सकलाई हेपाटाइटिसको खोपको अभियानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पत्ता लगाउन प्रयोग गरेपछि लडाकूहरूले पोलियोविरुद्धको खोप दिने स्वास्थ्यकर्मीमाथि आक्रमण अझै विस्तार गरेका छन् ।
गत वर्ष पाकिस्तानमा ३०६ पोलियो रोगी देखापरेका थिए । यो सङ्ख्या गत १४ वर्षमा सबैभन्दा बढी हो ।
सन् २०१५ मा पाकिस्तानमा यस्ता नयाँ नौ रोगी देखा परेका छन् । रासस/एएफपी














प्रतिक्रिया