५ कार्तिक २०८३, बिहिबार

विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले पार्टी उपाध्यक्षको पद थप गर्नेलगायतका निर्णय गर्नेछ।

सचिवालय बैठकले गत साउनमा विधान संशोधन गरेर वामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरे पनि स्थायी कमिटी बैठकले उनलाई उपाध्यक्ष बनाउने वा नबनाउने भन्नेबारे अनिश्चित रहेको छ।

सोमबारको बैठकले विधान संशोधन प्रस्ताव गरी विधानमा उपाध्यक्ष पद सिर्जना गरी मंसिर २९ को स्थायी कमिटी बैठकमा पेस गर्ने भएको छ।

‘विधान संशोधनको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको छ,’ सचिवालयको बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले भने। सचिवालय बैठकले यसभन्दा अगाडि बसेको स्थायी कमिटीको निर्देशन मान्दै पार्टी विधानमा केही संशोधनसमेत गरेको छ।

यसअघि पार्टीको विधानमै नभएको पद सिर्जना गरेर गौतमलाई उपाध्यक्ष बनाउन खोजिएको भन्दै नेकपाभित्र आलोचना भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने भन्दै सचिवालय बैठकमा प्रस्ताव गरेकोमा स्थायी कमिटीको बैठकबाट निर्णय गराउने सहमति भएको थियो।

पूर्वएमाले खेमबाट मात्रै पद बाँडफाँट भएको भन्दै असन्तुष्ट पूर्व माओवादी नेताहरू भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपाध्यक्षमा प्रस्ताव गर्दै आएका छन्।

माओवादी केन्द्रमा उपाध्यक्ष रहेको आधारमा पूर्वमाओवादी खेमाबाट उनलाई अघि सार्न खोजिएको छ।

‘पद बाँडफाँटको विषय एक पक्षीय जस्तो देखिन्छ त्यसलाई मिलाउनुपर्छ। पार्टी एकिकरण भैसकेको अवस्था छ। अहिले महाधिवेशन पनि भएको छैन त्यसकारण पार्टीभित्र नेताको मर्यादा पनि राख्नुपर्छ होला कि ?,’ पूर्व माओवादीका एक नेताले भने, ‘स्थायी कमिटीमा प्रस्ताव पुगेपछि गौतमलाई मात्रै उपाध्यक्ष मानेर जानसक्ने अवस्था आउँदैन।’ नागरिक दैनिकले समाचार छापेकाे छ ।