५ कार्तिक २०८३, बिहिबार

एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २३ मंसिर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।

किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। सोही अभियोगमा आरोपित प्रतिष्ठानका डाक्टर रोशन यादव भने फरार छन्।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन्। उनीहरूले ६ महिनाअघि लेखा शाखाको ड्रबाट चेक चोरी गरेको बयान दिएका छन्। चेकमा अस्पताल निर्देशक डाक्टर गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ। गत भदौ १९ गतेको मितिमा काटिएको सो चेक विद्यार्थीहरूले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका थिए। अस्पताल निर्देशक डाक्टर साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।

चेक किर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकाले बैंकका दुई कर्मचारी पक्राउ गरेको जनाएको छ। ‘अनुसन्धान गर्दा तीनजना मिलेर किर्ते गरेको देखियो, पक्राउ परेका विद्यार्थीले चेक चोरेको बयान दिएका छन्,’ डिएसपी न्यौपानेले भने, ‘चेकमा भएको हस्ताक्षर हेर्दा स्टाम्प हानेको जस्तो देखिन्छ, त्यसलाई पनि भेरिफाइ गरिएको छ।’

चेकमा भएको हस्ताक्षर अस्पताल निर्देशक डाक्टर साह र दाहालको वास्तविक भए नभएको जाँच गर्न प्रहरीले प्रयोगशाला पठाएको छ। साथमा दुवैको आधिकारिक हस्ताक्षर र पटकपटक पुनः हस्तक्षर गर्न लगाएर प्रहरीले प्रयोगशाला पठाएको छ। यो काण्डमा अब प्रहरीलाई प्रयोगशालाको रिपोर्टको प्रतिक्षा छ। नागरिक दैनिकले खबर छापेकाे छ ।